सत्तामा हुँदा संसद्मा हंगामा गर्ने, बाहिरिएपछि चल्नै नदिने ओलीबाट देशले मुक्ति पायो : देउवा
तनहुँ : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छ्न्। शनिबार तनहुँको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको सत्तारूढ गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले स्थानीय तहको निर्वाचनदेखि राष्ट्रिय निर्वाचन सम्म गठबन्धनले निरन्तरता पाउने बताएका हुन्।
पाँच दलिय गठबन्धनबाट आफू प्रधानमन्त्री बनेको र केपी ओलीको तानाशाही कार्य शैलीबाट देश र जनताले मुक्ति पाएको बताए। प्रधानमन्त्रीले देउवाले भने, ‘विपक्षीले आलोचना गर्छन्। अविश्वासको प्रस्ताव राख्छन्। उहाँले अविश्वासको सामाना गर्नुपर्ने ठाउँमा पटकपटक संसद विघटन गर्ने संसदमा हंगामा गर्नुहुन्छ। सरकारबाट बाहिरिएपछि संसद चल्नै नदिने। उहाँ(ओली) ले आफू बाहेक अरुलाई सहनै नसहने, अरुलाई काम गर्नै नदिने। त्यस्तो तानाशाही कार्य शैलीबाट हामीले अहिले मुक्ति पाएका छौँ। जनताले मुक्ति पाएको छ। हामी सबैले मुक्ती पाएका छौँ।’
प्रधानमन्त्री देउवाले गठबन्धनकै पक्षमा चुनावी वातावरण बनेको दाबी गरे। गठबन्धनलाई बिगार्ने, असफल होस् भन्ने चाहाने तत्त्व देशभित्र रहेको बताउदैँ प्रधानमन्त्री देउवाले ती तत्वलाई चुनावी मैदानबाटै जवाफ दिनुपर्ने बताए।
‘गठबन्धनलाई सफल पारेरै छोड्नु पर्छ। स्थानीय चुनावमा मात्र होइन। प्रदेश र संघीय चुनावसम्मै गठबन्धनलाई सफल पार्नुपर्छ। गठबन्धन राष्ट्रिय आवश्यकता मात्र होइन, यो ऐतिहासिक आवश्यकता हो। नेपाली कांग्रेसले कुनै पनि हालतमा आफूले ल्याएको प्रजातन्त्रलाई स्थायी रुपमा बचाउन लाग्नुपर्ने’ उनले बताए।