‘स्मृतिपटलमा तपस्वीहरु’ नामक कृति लोकार्पण
काठमाडौं : पूर्व आइजीपी अच्युतकृष्ण खरेलद्वारा लिखित ‘स्मृतिपटलमा तपस्वीहरु’नामक संस्मरणात्मक कृतिको लोकार्पण गरिएको छ। प्रा.डा. शिवप्रसाद रिसालले एक समारोहबीच कृति विमोचन गरेका हुन्। तप्सवीहरु खप्तड बाबा, श्यामचेतन बाबा, चुनचुन बाबा, परमहंसबाबासँग विभिन्न कालखण्डमा भेट गर्दाको संस्मरणलाई पूर्व आइजीपी खरेलले पुस्तकमा चर्चा गरेका छन्।
जीवनको आरोह-अवरोहको क्रममा ती साधुसन्तहरुसँग उनले भेटेका थिए। ती सबै स्मरणलाई पूर्व आइजीपी खरेलले १२० पृष्ठ खर्चेर चर्चा गरेका छन्।
मानिस र प्रकृतिसँगको सम्बन्धबारे गहिरो ढंगले कृतिमा व्याख्या र विश्लेषण गरिएको समिक्षक डा. गीता त्रिपाठीले बताइन्। ‘मानिस चेतनशील प्राणी हो। तर, प्रकृतिलाई ध्वस्त पार्ने कसैलाई कुनै अधिकार छैन। यो भनाईलाई तपस्वी बाबाहरुले जीवनमा प्रयोग गरेको कुरालाई सुक्ष्म ढंगले कृतिमा उल्लेख गरिएको छ,' पुस्तकको समीक्षा गर्दै उनले भनिन्, ‘यो कृतिबाट मानव जीवनका लागि मार्ग दर्शन प्राप्त गर्न सकिन्छ।’ निराशाको समयमा सधैं आशावादी हुनका लागि ‘स्मृतिपटलमा तपस्वीहरु’सबैले एकपटक पढ्नैपर्ने उनले बताइन्।
मानवले आफ्नो जीवनलाई बुझ्नुपर्नेबारे कृति केन्द्रीत छ। ‘जीवनमा फर्किनका लागि, प्रकृतिलाई माया गर्नका लागि र आम प्राणीहरुबारे बझ्नका लागि यो कृति एक माध्य बनेको छ,' डा. त्रिपाठीले भनिन्, ‘मान्छेलाई साँच्चै मान्छे बनेर बाँच्नका लागि प्रकृतिले हामीलाई मान्छे नै बनाएर पठाएको हो। तर, हामी आफूलाई हरेक दिन मान्छे सावित गर्दागर्दै मरिजान्छौं।’
मानिस सर्व श्रेष्ठ प्राणी भएकाले समयको चेतनाले बाच्नुपर्नेमा लेखकले कृतिमार्फत् भन्न खोजेको उनले उल्लेख गरिन्।
प्रा.डा. शिवप्रसाद रिसालले आध्यात्मिक सम्बन्ध रगतको नातामा भन्दा गहिरो हुने गरेको बताए। ‘विश्वका देशहरुको वार्षिक बजेटमा ५ प्रतिशत पनि आध्यमिक शिक्षातिर खर्च गरेको देखिँदैन। त्यसैले समाजमा नैतिक शिक्षाको कमिले अपराधीको संख्या बढेको हो। मानवलाई आध्यात्मिक सुरक्षा चाहिएको छ।’
अर्को प्रसंगमा प्रा.डा. रिसालले प्रहरीहरुलाई अध्यात्मिक शिक्षा दिएर नैतिकवान र चारित्रिकवान बनाउन सरकारलाई आग्रह गरे। ‘हाम्रा प्रहरी जवानलाई नैतिकवान बनाउनुपर्छ। बन्दुक र लाठी बोकाएरमात्रै हुँदैन। सबैभन्दा पहिला आध्यात्मिक शिक्षा दिएर उच्च नैतिकवान बनाउनुपर्छ।’