खरेलको ‘स्मृति पटलमा तपस्वीहरू’
काठमाडौं : पूर्वआईजीपी अच्युतकृष्ण खरेलद्वारा लिखित ‘स्मृति पटलमा तपस्वीहरू’ संस्मरणात्मक कृतिको लोकार्पण गरिएको छ। प्रा.डा. शिवप्रसाद रिसालले एक समारोहकाबीच कृति विमोचन गरेका हुन्। तपस्वीहरू खप्तड बाबा, श्यामचेतन बाबा, चुनचुन बाबा, परमहंस बाबासँग विभिन्न कालखण्डमा भेट गर्दाको संस्मरणलाई पूर्वआईजीपी खरेलले पुस्तकमा चर्चा गरेका छन्।
जीवनको आरोह अवरोहका क्रममा ती साधुसन्तसँग उनले भेटेका थिए। ती सबै स्मरणलाई पूर्वआईजीपी खरेलले १२० पृष्ठमा चर्चा गरेका छन्। मानिस र प्रकृतिसँगको सम्बन्ध बारे गहिरो ढंगले कृतिमा व्याख्या र विश्लेषण गरिएको समीक्षक डा. गीता त्रिपाठीले बताइन्।
‘मानिस चेतनशील प्राणी हो। तर, प्रकृतिलाई ध्वस्त पार्ने कसैलाई कुनै अधिकार छैन। यो भनाइलाई तपस्वी बाबाहरूले जीवनमा प्रयोग गरेको कुरालाई सुक्ष्म ढंगले कृतिमा उल्लेख गरिएको छ’, पुस्तकको समीक्षा गर्दै उनले भनिन्, ‘यो कृतिबाट मानव जीवनका लागि मार्गदर्शन प्राप्त गर्न सकिन्छ।’ निराशाको समयमा सधैं आशावादी हुनका लागि ‘स्मृति पटलमा तपस्वीहरू’ सबैले एक पटक पढ्नै पर्ने उनले बताइन्।
प्रा.डा. शिवप्रसाद रिसालले आध्यात्मिक सम्बन्ध रगतको नाताभन्दा गहिरो हुने बताए। ‘हरेक राष्ट्रले वार्षिक बजेटमा पाँच प्रतिशत पनि आध्यमिक शिक्षातिर खर्च गरेको देखिँदैन। त्यसैले समाजमा नैतिक शिक्षाको कमीले अपराधीको संख्या बढेको हो। मानवलाई आध्यात्मिक सुरक्षा चाहिएको छ’, उनले भने। अर्को प्रसंगमा प्रा.डा. रिसालले प्रहरीहरूलाई अध्यात्मिक शिक्षा दिएर नैतिकवान र चारित्रिकवान बनाउन सरकारलाई आग्रह गरे।
‘हाम्रा प्रहरी जवानलाई नैतिकवान बनाउनु पर्छ। बन्दुक र लाठी बोकाएर मात्रै हुँदैन। सबैभन्दा पहिला आध्यात्मिक शिक्षा दिएर उच्च नैतिकवान बनाउनु पर्छ’, उनले भने। गीतकार तथा चलचित्र निर्माता यादव खरेलले सबैलाई धन्यवाद दिदैं कृति लोकार्पण सभाको समापन गरेका थिए।