दानमा होइन, जनतासँग ऋणमा मत मागेको छु

दानमा होइन, जनतासँग ऋणमा मत मागेको छु

नेपाली कांग्रेसले भक्तपुरको सूर्यविनायक नगरपालिकामा निशान ढुंगेललाई मेयरको उम्मेदवार बनाएको छ। जनप्रतिनिधि जनताको सेवक बन्नुपर्ने मान्यता राख्ने ढुंगेल चुनाव जितेपछि ‘जनताकै बीचमा रहने’ प्रतिबद्धता जनाउँछन्। नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या र समाधानका उपायबारे मेयरका उम्मेदवार ढुंगेलसँग अन्नपूर्णकर्मी राधा खनालले गरेको कुराकानी;

सूर्यविनायकमा मेयरको टिकट पाउनुमा तपाईंको राजनीतिक योगदान के छ ? 

२०४६ सालको जनआन्दोलनदेखि म राजनीतिमा सक्रिय छु। नेपाल विद्यार्थी संघको जिल्ला सदस्य, भक्तपुर बहुमुखी क्याम्पसको स्ववियु सचिव हुँदै नेपाली कांग्रेस पार्टीको जिल्ला सचिव बनेर काम गरेँ। हाल, कांग्रेसको सूर्यविनायक नगरसमितिको सभापति छु। अहिले पार्टीले मलाई यस नगरको मेयरमा उम्मेदवार बनाएको छ। 

अरू आकांक्षी खुसी छन् त ?  

मुलुकको सबैभन्दा जेठो इतिहास बोकेको पार्टी हो, नेपाली कांग्रेस। हरेक राजनीतिक परिवर्तन र आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको छ। स्थापना कालदेखि नै लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका पक्षमा आवाज उठाउँदै आएको छ। यो पार्टीमा लाखौं–लाख नेता÷कार्यकर्ता छन्। लोकतान्त्रिक पार्टीमा प्रत्येक नेता÷कार्यकर्ताले चुनावका बेला उम्मेदवार बन्न खोज्नु स्वाभाविकै हो। २०३६ सालदेखि १४औं महाधिवेशनसम्म स्थापित भएको नेतृत्व भक्तपुरको पार्टीमा अझै क्रियाशील छ। पार्टीले सबै पक्षलाई विचार विमर्श गरेर टिकट दिन्छ। टिकटको निर्णय अघि आकांक्षी सबैलाई आफ्ना 

इच्छा र एजेन्डा राख्ने मौका दिइएको थियो। जे भए पनि, टिकट पाउने एक जनाले मात्रै हो। मैले टिकट पाएकोमा साथीहरू निकै खुसी हुनुहुन्छ। अहिले मलाई र पार्टीलाई जिताउन उहाँहरू अहोरात्र खटिरहनु भएको छ। 

तपाईंका एजेन्डा के–के हुन् ? 

सूर्यविनायक पहिले गाविस थियो। यहाँको विकास गरेर नगरपालिकामा स्तरोन्तर गर्न र जनतालाई आवश्यक सेवा, सुविधा सहज रूपमा दिने काममा म निकै सक्रिय बनेर लागेँ। सूर्यविनायक नगरपालिकाको विकास र समृद्धिका लागि अग्रसर हुनेमध्ये म अग्रभागमै छु। अघिल्लो निर्वाचनमा जनतामाझ यी कुरा राख्न सकेनौं। 

त्यसैकारण कांग्रेसले नेतृत्व पाएन। एमालेले नेतृत्व त पायो, तर जे परिकल्पना गरेर नगरपालिका निर्माण गरेका थियौं, त्यसअनुरूप काम गर्न सकेन। 

तपाईंले गर्न सक्ने आधार के हुन् ?

मैले मतदातासँग मतलाई दानमा मागेको छैन। मत ऋणमा मागेको छु। किनभन्दा निर्वाचित भएपछि म ऋण तिर्नेछु। दानमा लिएको कुरा त तिर्नै पर्दैन नि ! दोस्रो कुरा, जनता र जनप्रतिनिधिबीच ‘ग्याप’ हुनुहुँंदैन भन्ने मेरो मान्यता छ। त्यसले कसैलाई पनि फाइदा गर्दैन। मैले जनताको भरोसा र विश्वास समेट्ने छु। सूर्यविनायक नगरपालिका मेरो हो, यो नगरपालिकाले मेरो हित गर्छ, भन्ने अनुभूति यहाँका सबै नागरिकलाई दिलाउने मेरो इच्छा र प्रतिबद्धता छ। 

कसरी विकास गर्नुहुन्छ ? 

सबैभन्दा पहिले नगरपालिकाको डीपीआर बनाइनुपथ्र्यो। २०-३० वर्षसम्मका लागि नगरको विकासको खाका कोर्नुपथ्र्यो। तर, उहाँहरू पूर्वाग्राही मात्रै हुनुभयो। आफ्नो पार्टी वा नजिकका मान्छेका सन्दर्भमा जे काम पनि जायज ठान्ने र सहजै काम गर्नुभयो। तर, आपूmसँग असहमति राख्ने वा अन्य पार्टीका जनतासँग शासकको व्यवहार गर्नुभयो। यो प्रवृत्तिको विरुद्धमा म छु। 

जनताले सेवा–सुविधा नपाउनुको कारण के रह्यो त ? 

विगतमा गाविस हुँदा जनताले जे दुःख पाउँथे। नगरपालिका भएपछि त्यस्तो नहोस् भन्ने हाम्रो चाहना थियो। तर, यहाँका जनप्रतिनिधिबाट उल्टो काम भयो।  सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेट्न सजिलो भयो होला। तर, यहाँका वडाध्यक्षलाई भेट्न निकै गाह्रो भयो। 

तपाईंबाट त्यस्तो हुँदैन भनेर जनताले कसरी विश्वास गर्ने ? 

मेरो प्रतिबद्धता नै छ, म आमजनता माझ रहन्छु। जनप्रतिनिधि भनेको शासक होइन, सेवक हो भन्ने प्रमाणित गरेर देखाउनेछु। यसअघिका जनप्रतिनिधिले कोटको खल्तीबाट नाम झिकेर उपभोक्ता समितिहरू बनाउँथे। त्यस्ता समितिका नाममा ठेक्कापट्टा दिने, जेसिबी भाडामा चलाउने र त्यसबाट कमिसन खाने काम भयो। आफ्ना कार्यकर्ता मोटाउने बाहेक उहाँहरूले अरू केही काम गर्नुभएन। नगरपालिका पारदर्शी ढंगले चल्न सकेन। यो नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने र जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्ने मेरो प्रतिबद्धता हो। मेरो अर्को एजेन्डा भनेको नगरपालिका पारदर्शी बनाउने हो।

पर्यटनबाट पनि यो नगरपालिकाको विकास हुन्छ कि ?   

सूर्यविनायकले मुलुकको राजनीति परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको छ। सामाजिक कुरामा विभिन्न जातजाति÷भेषभूषाको नगर हो। यहाँका सबै संस्कृतिलाई पहिचानसहित अगाडि लैजान सक्छौं। पर्यटकीय क्षेत्रमा पनि यहाँ थुप्रै सम्भावना छन्। हरिया डाँडाहरू छन्। ती डाँडामा पुग्यौ भने घरकै बार्दलीबाट उपत्यकालाई हेरेजस्तो अनुभूति हुन्छ। यो नगरपालिकामा तामाङ जातिको बाहुल्यता छ। उहाँहरूको संस्कृतिलाई उजागर गर्दै पर्यटनको विकास गर्न सकिन्छ। अनगिन्ती पानीका मुहान छन्। तिनको खोजीसम्म भएको छैन। धार्मिक रूपमा केदारनाथको शिर डोलेश्लोर, गणेशमध्येको जेठो गणेश सूर्यविनायक गणेशस्थान छ। बुद्धिष्ट, क्रिश्चियन, हिन्दु सबै धर्म र संस्कृतिको अनुपम मिश्रण छ। सबै पहिचानलाई सम्बोधन गरेर अगाडि लैजान सकियो भने नमुना नगर बनाउन सक्छौं। 

शिक्षाको अवस्था के छ ? 

मेरो अर्को प्रतिबद्धता भनेको शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने हो। सामुदायिक विद्यालय र निजीमा पढने विद्यार्थीलाई एउटै प्रतिस्पर्धामा लगेका छौं। मैले नेतृत्व पाएँ भने त्यसको अन्त्य गर्नेछु। सामुदायिकलाई सामुदायिकसँग र निजीलाई निजीसँगै प्रतिस्पर्धा गरिनेछ। सामुदायिक विद्यालयमा प्राविधिक विषय थप गरेर व्यवस्थित र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बनाइनेछ। आजभोलि यहाँका जनताले सामुदायिक विद्यालय खोज्न अर्को नगरपालिका धाउनु परिरहेको छ। त्यसको अन्त्य गर्नेछु। 

स्वास्थ्य कसरी सुधार गर्ने योजना छ ? 

नगर अस्पताल मुख्य राजमार्ग (हाईवे) मा छ। नगरको बीचमा हुनुपथ्र्यो। हरेक वडाको केन्द्रमा स्वास्थ्य सेवा राख्नुपर्छ। म त्यो गर्नेछु। 

सार्वजनिक यातायातको सेवा सबैले पाएका छन् त ? 

सार्वजनिक यातायात व्यवस्थित नहुँदा नगरवासीले समस्या भोगिरहेका छन्। नगरभित्रबाट धेरै ठाउँमा सार्वजनिक यातायातको आवतजावत सेवा छैन। निजीक्षेत्रलाई प्रोत्साहन गरेर नगरपालिकाले सार्वजनिक यातायात थप गर्ने र धेरैतिर आवतजावतको सुविधा बढाउनुपर्छ।  नागरिकको सुविधाका लागि अरू पनि धेरै काम गर्न बाँकी छन्। 

बाटोघाटो र हाईवेमाथि झोलुङ्गे पुल बनाउनेलाई मात्र विकास भनियो। बलजफ्ती जनताको जमिन र घर हडप्नुलाई विकासको नाम दिइयो। विकासको अनुभूति जनताले पाए कि पाएनन् त ? जनताको जीवनस्तरमा के कस्तो प्रभाव पार्यो ? भन्नेतर्पm कसैको ध्यान गएन। मेरो मान्यता भनेको मानव विकास प्रमुख विकास हो। अधिकतम सहमति र न्यूनतम क्षतिको अवधारणा अपनाएर विकास निर्माण गर्नुपर्छ। मुख्य कुरा, आम जनताले विकास मेरो लागि हो भन्ने महसुस गर्नुपर्‍यो। 

यो नगरमा त हेभिवेट नेताहरू पनि बस्नुहुन्छ नि ! 

सूर्यविनायक नगरपालिकामा ‘हेभिवेट’ नेताहरूको पनि बसोबास छ। पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली यही नगरको बासिन्दा हो। यहाँ अरू पार्टीका नेताहरू पनि बस्नुहुन्छ। चुनावी नतिजामा भने यहाँ को बस्छ भन्ने कुराले अर्थ राख्दैन। जनताले मत दिने हो। यहाँका जनता र पूर्वप्रधानमन्त्री र अन्य नेताहरूका बीचमा बसोबासकै कारण कुनै सम्बन्ध छ जस्तो मलाई लाग्दैन 

सत्ता गठबन्धनबीच चुनावी संयोजन कसरी भइरहेको छ ?

कांग्रेस र एकीकृत समाजवादीबीच यहाँ चुनावी गठबन्धन भएको छ। यसअघिका  जनप्रतिनिधिले गरेका बेथिति, विकृति, भ्रष्टाचार र कुुशासनबाट जनता आजित छन्। जनप्रतिनिधिसँग नागरिक समाजको ठूलो संख्या विरक्तिएको छ। एकातिर गठबन्धन र अर्कोतिर विरक्तिएको नागरिक समाजसँग मेरो मनबन्धन छ।  गठबन्धन र मनबन्धनको भोटले मैले चुनाव जित्ने विश्वास लिएको छु।

चुनाव जितेपछि जनप्रतिनिधि कस्तो हुनुपर्छ ? 

यसअघि जितेका धेरै जनप्रतिनिधिले आफैंलाई राजा ठान्न थाले। जनताको सेवक हो भन्ने बिर्से। त्यही कारण देशैभरि जनप्रतिनिधिप्रति गुनासा र असन्तुष्टि देखा परे। जन्मदर्ता र मृत्युदर्तामा समेत कर लिन थाले। किसानले खानलाई  उत्पादन गरेको फर्र्सीमा समेत कर लगाइदिए। गाई, भैंसी पाल्नेबाट कर लिन थालियो। करको आतंक नै मच्चाइयो। त्यसको चौतर्फी विरोध पनि भयो। त्यसपछि केही जनप्रतिनिधिहरू वितरणमुखी लोकप्रियताका सस्ता कार्यक्रम ल्याउन थाले। कतिपय स्थानमा त त्यस्ता कार्यक्रमको प्रतिफल पनि राम्रै देखियो। तर, जनप्रतिनिधिले आफूलाई केन्द्रमा राखेर सस्तो लोकप्रियताका कार्यक्रममा लाग्नुहुँदैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.