बागी उम्मेदवारलाई भोट माग्दै प्रचण्डले भने : गठबन्धन 'क्लियर' छैन
धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गठबन्धनकै बागी उमेदवारका लागि भोट मागेका छन् । कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष पदकी उमेदवार लक्ष्मी सत्गौवा थारुका लागि प्रचण्डले भोट मागेका हुन् । कैलारी गाउँपालिकामा सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा प्रचण्डले भने, 'यो गाउँपालिका देशभरीका पालिकामध्ये उत्कृष्ट तेस्रो भएको हो, अब लाजुराम चौधरी र लक्ष्मी सत्गौवा थारुको टीमले पहिलो बनाउनेछन्, दुबैजनालाई जिताइ दिनुस् ।’
कैलालीमा सत्तागठबन्धनका बीच पालिका बाँडफाँड भए अनुसार कैलारी गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेस भाग परेका थियो । तर, निवर्तमान उपाध्यक्ष लक्ष्मी सत्गौवा थारुले असन्तुष्ट हुँदै स्वतन्त्र उमेदवारी दिएकी थिइन् । कैलालीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच मात्रै गठबन्धन भएको छ । वैशाख १९ गते तीनै दलका नेताहरुले, प्रमुख र उपप्रमुखमा उमेदवारी दिएका आ–आफ्ना कार्यकर्ताहरुलाई कारबाही गरिएको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।
लक्ष्मी सत्गौवा थारुको नाम उक्त ९ जनाको लिस्टमा उल्लेख छ । माओवादीले निवर्तमान अध्यक्ष लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई उम्मेदवार बनाएको थियो । प्रचण्डले, अहिले पनि गठबन्धन क्लियर नभएको बताए।
‘गठबन्धन भन्दैमा झुक्ने काम गरिन्न, हामीले एक्लैले पनि चुनावमा जानुपर्छ, पार्टीका उमेदवार जस्तोसुकै अवस्थामा आएपनि हामीले जिताउनुपर्छ,' प्रचण्डले भने । प्रचण्ड कैलारी गाउँपालिकाको चुनावीसभा सम्बोधन गरी कर्णाली प्रदेशको कालिकोट गएका छन् । कालिकोटमा उनले तीनवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि उनले, सुदूरपश्चिमको डोटीको दियायल र जोरायल गरी दुई ठाउँमा चुनावी सभा गर्नेछन् ।
डोटी पछि बैतडीमा पनि प्रचण्डको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । त्यसपछि धनगढीमा आजै गठबन्धनको संयुक्त चुनावी सभा छ । त्यो चुनावी सभाका लागि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी आइसकेका छन्। प्रचण्डको बुहारी बीना मगरको क्षेत्र कञ्चनपुरको बेलौरीमा पनि चुनावी सभा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।