जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ, शासक होइन : नेता पौडेल
तनहुँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको काम गर्ने व्यक्ति जनप्रतिनिधि हुन नसक्ने बताएका छन्। सोमबार जिल्लास्थित शुक्लागण्डकी नगरपालिका–९, घारी तालवेँशीमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले जनताको मतले विजयी हुने तर पार्टीको काम गर्ने व्यक्ति जनप्रतिनिधि हुन नसक्ने बताएका हुन्। उनले भने ‘सिंहदरबारको सेवा घरघरमा भन्ने तर जनताले कामका लागि जनप्रतिनिधि खोज्दै हिड्नुपर्ने अवस्था आउनुहुन्न। जनप्रतिनिधि जनताको सेवक बन्नुपर्छ, शासक बन्ने होइन। सवैको साँझा प्रतिनिधि भएर जनताको काम गर्ने हो पार्टीको काममा केन्द्रीत हुने होइन।’
नेता पौडेलले निर्वाचन राजनीतिक दल र नेतालाई दण्डित र पुरस्कृत हुने विधि भएकाले जनताले सोच विचार गरेर मात्र भोट दिनुपर्ने बताए। ‘जनताको पक्षमा काम गरेको छ भने पुरस्कृत हुन्छ। जनताको पक्षमा काम गरेको छैन भने दण्डित हुन्छ’, उनले भने त्यो विधि भनेको निर्वाचन हो।’ काम केही पनि नगर्ने तर सोही व्यक्ति र पार्टीले जितिरहने हो भने जनताले भोट हाल्ने यो विधिको कुनै अर्थ छैन।’ समाज बन्न सक्दैन। देश समृद्ध बन्न सक्दैन।’ निर्वाचनको सुरन्दर पक्ष भनेकै मतदाताले योग्य प्रतिनिधि छनौट गर्न पाउनु भएको उनले बताए। हिजो इतिहासको चर्चा गर्नेभन्दा अहिले काम योजना ल्याउने उम्मेदवारलाई जनताले रोज्नुपर्ने पौडेलको भनाई छ। उनले शुक्लागण्डकीमा चुनावी गठबन्धन बनेकाले गठबन्धनका सवै उम्मेदवारलाई एकमत भएर विजयी गराउन कार्यकर्तालाई सुझाव दिए।
उपमेयर पदका उम्मेदवार कांग्रेस प्रवेश
जिल्लाको शुक्लागण्डकी नगरपालिकाको उपमेयर पदका उम्मेदवार शिवप्रसाद लम्साल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी, लेलिनवादी) बाट उपमेयरमा उम्मेदवारी दिएका लम्साल सोमबार कांग्रेसमा प्रवेश गरेका हुन्। लम्साल नेकपा माले तनहुँको जिल्ला सदस्य हुन्।
शुक्लागण्डकी–९ घारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनलाई कांग्रेसका केन्दीय सदस्य प्रदिप पौडेलले स्वागत गर्दै पार्टी सदस्यता प्रदान गरेका छन्।
लम्सालले आफ्नो उम्मेदवारी नरहेको र गठबन्धनको उम्मेदवारलाई सघाउने प्रतिवद्धता जनाए। कृषि क्षेत्रको विकासले नै राष्ट्र समृद्ध हुने धारणा राखेका लम्सालले कृषि क्षेत्रको विकासमा काँग्रेसले योगदान गर्ने अपेक्षासहित आफू कांग्रेस प्रवेश गरेको बताए।
लम्साल विसं २०४९ सालदेखि कम्युनिष्टको राजनीतिमा सक्रिय थिए।