मालिकामा त्रिपक्षीय प्रतिस्पर्धा
बेनी : म्याग्दीको मालिका गाउँपालिकाको स्थानीय तह चुनावमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)का उम्मेदवारको तीव्र प्रतिस्पर्धाले मालिकाको चुनावले जिल्लामै महत्वका साथ हेरिएको छ। मालिकामा नेशनल मंगोल अर्गनाइजेशन पनि नयाँ राजनीतिक शक्तिको रुपमा उदाउने रणनीतिका साथ चुनावमा आएको छ।
सात वटा वडा रहेको मालिकामा निर्वाचित हुने ३७ पदका लागि १४७ जना चुनामी मैदानमा उत्रिएका छन्। गाउँपालिका अध्यक्षमा ४, उपाध्यक्षमा ४, वडा अध्यक्षमा १९, खुल्ला सदस्यमा ५६, महिला सदस्यमा २८ र दलित महिला सदस्यमा २७ जना उम्मेदवार छन्। ९ वटा मतदानस्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार २०१ जना मतदाता छन्।
गाउँपालिका अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बूजा, नेपाली कांग्रेसका श्रीप्रसाद रोका, नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन), नेशनल मंगोल अर्गनाइजेशनका खमबहादुर रोका उम्मेदवार बनेका छन्। उपाध्यक्षमा एमालेका लक्ष्मीदेवी पुन, नेपाली कांग्रेसका पिपला बुढाथोकी, नेकपा माओवादी केन्द्रका गौरी सेञ्चुरी र मंगोलका धनदेवी बुढा उम्मेदवार बनेकी छिन्।
मालिकामा गत निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित रोकाले यस पटक दोहर्याएर उम्मेदवार बनेका हुन्। अघिल्लो चुनावमा रोका र एमालेका उम्मेदवार गर्बुजाबीच प्रतिस्पर्धा भएको थियो। गत चुनावमा स्वतन्त्रबाट उम्मेदवार भएर वडा नम्बर ७ को वडा अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका जिल्ला संयोजक जुग्जाली यसपाली पालिका अध्यक्षमा भिडेका हुन्। कांग्रेस र मंगोलका रोकाद्धय वडा नम्बर ६ दुखुवेशी, एमालेका गर्बुजा र माओवादीको जुग्जाली वडा नम्बर ७ बिमका हुन्।
कांग्रेसका उपाध्यक्षका उम्मेदवार बुढा गत चुनावमा वडा नम्बर ५ को अध्यक्षमा निर्वाचित भएकी थिइन्। माओवादीका प्रदेश कमिटी सदस्य सेञ्चुरी गत चुनावमा पनि उपाध्यक्षको प्रत्यासी थिइन्। एमालेकी उपाध्यक्षकी उम्मेदवार पुन वडा नम्बर ४ च्युरीबोट र मंगोलकी उपाध्यक्षकी उम्मेदवार बुढा वडा नम्बर ५ देविस्थानकी हुन्। एमाले र कांग्रेस एकल प्रतिस्पर्धामा छन्। माओवादीलाई नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सघाएका छन्।
एमालेका गाउँपालिकाका अध्यक्षसमेत रहेका उम्मेदवार गर्बुजाले आफ्नै पार्टीका उपाध्यक्ष र तीन जना वडा अध्यक्ष रहेको गाउँपालिकामा बेतिथि र बिसंगति भएको सार्वजनिक रुपमा घोषणा गर्दै ‘बिल मिलाउने नभएर दिल मिलाउने’ नेतृत्व आवश्यक रहेकाले आफू उम्मेदवार बनेको बताएका छन्।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका अध्यक्षका उम्मेदवार रोकाले पहिलो कार्यकालमा हाँसिल गरेको अनुभवका आधारमा सुरुवात गरेका अधुरा योजना र कार्यक्रमलाई सफल बनाउन तथा पूर्णता दिन पुन जनतामाझ आएको बताउँछन्।
असहज अवस्था र प्रतिकुलताका बावजुत पनि वडाको सफल नेतृत्व गरेको बताउने माओवादीका जिल्ला संयोजक जुग्जालीले सेवा प्रवाहलाई विभेदरहित र पारदर्शी बनाउने, संघीय र प्रदेशका योजना भित्र्याएर दुरगामी महत्वका योजना कार्यान्वयन गर्ने र नमुना पालिका बनाउने योजना अघि सारेका छन्।
गत चुनावमा मालिका गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीप्रसाद रोकाले २७०६ र उपाध्यक्ष बिमला रोकाले २६६४ मत ल्याउँदा वडा अध्यक्षका उम्मेदवारहरुले २६०६ मत ल्याएका थिए। एमालेका बेगप्रसाद गर्बुजाले २६२२ र उपाध्यक्ष खरमाया बिटालुले २६९१ मत ल्याउँदा वडा अध्यक्षका उम्मेदवारहरुले २६६७ मत ल्याएका थिए।
हाल माओवादी केन्द्रमा रहेका तत्कालीन स्वतन्त्र उम्मेदवारसहितका माओवादीका वडा अध्यक्षका उम्मेदवारहरुले १२४० मत ल्याउँदा गाउँपालिका अध्यक्षका उम्मेदवार कमल केसीले ९९० र उपाध्यक्ष गौरी सेञ्चुरीले ९७७ मत पाएका थिए। स्वतन्त्र उम्मेदवार हर्कमान जुग्जालीले १२८ मत ल्याएका थिए।
मालिकामा एमाले ३, माओवादी २ र काँग्रेस २ वटा वडामा विजयी भएका थिए। एमालेबाट बिजयी भएका ३ नम्बर वडा अध्यक्ष हेमबहादुर पुन केही महिनादेखि माओवादीमा सक्रीय छन्। माओवादीबाट ४ नम्बर वडामा जितेका दिलिप शेरचन केही दिनअघि एमाले प्रवेश गरेका छन्।
एमालेले बलियो संगठन र परिचित उम्मेदवारलाई जितको आधार मानेको छ। कांग्रेसले पनि संगठनका साथै युवामा स्थापित उम्मेदवारलाई जितको आधार दावी गरेको छ। पूर्व माओवादी घटकहरुलाई एकीकृत गराउदै एमाले र कांग्रेसकै हाराहारीमा संगठन बनाएको, युवा, दलित र भेगिए सन्तुलन मिलाएर स्पष्ट योजनाका साथ चुनावमा होमिएकाले चुनाव जित्ने दावी गरेका छन्।
तीन वटा दलका उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा भएको अवस्थामा मंगोलका उम्मेदवारले कसको मत काट्छन, नखुलेका स्वतन्त्र र नयाँ मतदाता निर्णायक बन्ने देखिन्छ। मालिकमा कांग्रेसलाई बिरासत जोगाउने, एमाले र माओवादीलाई नेतृत्व लिने चुनौति छ।