सरकारी सुविधाको पहुँच पुर्याउनेलाई मत
जनकपुरधाम : महोत्तरी–धनुषा र भारतीय सिमानासंग जोडिएको मुखियापट्टी मुसहरनिमा दशगजासंग जोडिएको गाउँ हो। यहाँ स्थानीय निकायको चुनावी चहल–पहलले नेपाल र भारत छुटिन्छन्। दुई मुलुक छुटिने चिनारी बिग्ही नदी हो। तर वारीपारी यति बेला चुनावी चहल–पहलले छुटिन्छ। नेपालतर्फ चुनाव चिन्हसहितको झण्डा, उम्मेदवारहरुको घरदैलो, मतदाताको छलफलले नेपाली बस्ती र भारतीय बस्ती छुटिन्छन्।
दैनिक काम गरेर फर्किएका स्थानीयहरु दिउँसो प्रचण्ड घाममा प्राथमिक विद्यालयसंगै रहेको आँप बगैचाको शितलमा बसेर चुनावको छलफल गर्दै गरेको भेटिन्छन्। सरकारलाई बुझाएको मालपोत अनुसार सुविधासमेत पाउन नसकेका यहाँका मतदाता सरकारले उपलब्ध गराएकै सुविधा गाँउमा सहज तरिकाले पाउनुपर्ने सर्त उम्मेदवारहरुसंग राखेका छन्।
मुखियापट्टी मुसहरनिया–९ का ५२ वर्षीय ठकाइ यादव किसानलाई सहुलियतमा ऋण उपलब्ध गराउनेलाई मत दिने बताउछन्। डुवानका कारण रोपेको धान र छरेको खाद्यको मूल्यसमेत उठाउन नसकेको किसानहरुले सहजरुपमा मल, खाद्य तथा बीउबिजन उपलब्ध गराउनेलाई मत दिने उनीहरुको भनाई छ, यादवले भने, ‘बाढी र डुवानले बनाएको घाउको पीडा जीवितै छ। फाटेको मन र घाउँमा मलहम लागेको छैन। केन्द्र सरकारदेखि नजिकको स्थानीय सरकारसम्मले मलहम लगाउन सकेन। धान बालिमा क्षति भएका किसानलाई सहुलियतमा ऋण उपलब्ध गराएर मलहम लागउने नेता चाहिएको छ। हरेक वर्ष आउने बाढी रोक्ने र डुवानले क्षति भएको किसानका लागि सहुलियतमा ऋण उपलब्ध गराउनेलाई मत दिन्छौ, उनले भने।
मुसरनियाकै २५ वर्षीय कुलदिप कुमार यादव ठकाइको मतमा सहमति जनाए। नुनदेखि सुनसम्म भारतबाट ल्याउछौं कुलदिपले भने,‘नेपालको भूमिमा बस्दा नागरिकता र लालपुर्जा बाहेक नेपालबाट केही पाएको छैनौं।’ मुसरनियामा गरिबी छैन तर डुवानले धनीलाईसमेत गरिबीको रेखामुनि बाच्नु परेको छ, उनले भने। सरकारबाट जस्ले सहुलियतमा ऋण उपलब्ध गराउछ, हाम्रो मत उसैलाई जान्छ, उनले भने।
मुसहनियामा गरिब कोहि छैन तर डुवानले कसैको घरमा खाने अन्न र खेतमा उब्जिने बाली छैन। चुनाव जित्न पहिला मुसहरनियबासीको मन जित्नुपर्ने स्थानीय ५० वर्षीय रामदेव यादव बताउछन्। १ सय ८० जनाभन्दा बढी परिवारको बस्तीमा जग्गा नहुने बिरलै भेटिन्छन्। कोही मात्रै आफ्नो जग्गा नहुने छन्, यादवले भने, ‘आफ्नो जग्गा नहुनेले पनि २/४ बिगहा ठेक्कामा धान खेति गरेका थिए। बाढीले बगाएपछि बस्ती नै समस्यामा छन्। चुनाव जित्ने नेतामाथि आश छ।’ डुवानका कारण धान बगेपछि स्थानीय कृषकहरु सरकारले किसानका लागि सहुलियत ऋण उपलब्ध गराउनुपर्ने मत माग्न आएका उम्मेदवारसंगको शर्त राखेका छन्।
मुसहरनियाँवासी सरकारी सुविधाबाट बञ्चित छन्। शिक्षा, स्वास्थ्य, कृषि अनुदान, पशुपालन तथा सुरक्षा पाउन नसकेको स्थानीय श्याम यादव बताउछन्। प्राथमिक विद्यालय छन, तर पढाइ हुदैन यादवले भने,‘मुसरनियाबासी सरकारी सिटामोल पाउन सकेको छैन। टाउको दुख्दा उपचार र औषधिका लागि भारतको क्लिनिकमा जानुपर्ने बाध्यता छ।’ मुसहरनियाबासी सुरक्षित प्रसुती सेवाबाट बञ्चित भएका छन्। प्रसुतीका लागि अस्पताल नहुँदा भारतमा महँगो उपचार गर्दा पनि ज्यान आमा र शिशुको ज्यान जोखिममा रहेको स्थानीय नरथ यादव बताउछन्।
अस्पतालमा पहुँच नहुँदा भोला यादवकी २२ वर्षीया बुहारी जानकी देवीलाई ज्यान जेनतेन जोगियो। नातीको मृत्यु भयो। गाउँमा अस्पताल र एम्बुलेन्स व्यवस्था गराउने नेतालाई नै जिताउने मुडमा यादव छन्।
जनकपुर उपमहानगरपलिका २३ लादोका ६० वर्षीय उपेन्द्र ठाकुर चुनावी मैदानमा रहेको उम्मेदवारहरुबाट संन्तुष्ट छैनन्। पिध नभएका भाडो जस्तै नेताहरुको आचरण छ, ठाकुरले भने,‘मत माग्ने बेलमा सबैले विकास गर्छु भन्छन। मत पाएपछि कोहि फर्केर आउदैनन्।’ यसपालीको चुनावमा नयाँ व्यक्तिलाई मत दिने ठाकुरको भनाइ छ। जनताको सेवा र सुविधा नेताले खोसेको स्थानीय श्याम महतो बताउछन्। उपभोक्त समिति बनाएर सरकारको बजेट लुटनेहरु नै भोट माग्न आएको महतोले टिप्पणी गरे। सडक, ढल, शिक्षा, स्वास्थ्य र बिजुलीको बजेट कर्मचारीसंग बाँडेर खाने नेताहरु नै भोट माग्न आउँदा मतदाता कसलाई गर्ने मत दिने भन्नेमा अन्यौलमा महतो परेका छन्। गाउँको प्राथमिक विद्यालय सुधार्न नसक्ने नेता नगर के गरी चलाउन सक्ला महतोले प्रश्न गरे।
जनकपुर उपमहानगरपालिका पिडारीका ३४ वर्षीय रामवरण पासवान रोजगारीको अवसर ल्याउनेलाई मतदान गर्ने बताएका छन्। जनकपुरको पिडारी चौकमा भेटिएका पासवानले भने,‘म जस्तो गरिवलाई दैनिक खान बस्न काम गर्नुपर्छ। काम गर्ने अवसर दिनेलाई नै मत दिन्छु।’जनकपुर-१ की ४० वर्षीया सावित्री सदा घर आसपासमा सरकारी विद्यालय स्थापना गर्नेलाई मत दिने तयारीमा छन्।