गठबन्धनलाई खण्डित पार्ने खेल भइरहेको छ : प्रचण्ड
धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रजातान्त्रिक शक्ति र बामपन्थी शक्ति मिलेका बेला देशमा ठूलो राजनीतिक परिवर्तन भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशको राजधानीमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन ।
'नेपालको इतिहासमा जतिजति बेला प्रजातान्त्रिक शक्ति र बामपन्थी शक्ति एकअर्कामा समझदारी बनाएर अघि बढेका छन, त्यतित्यति बेला देशमा ठूलो राजनीतिक परिवर्तन आएको छ । २०४७ सालको परिवर्तन, १२ बुँदे समझदारी र २०६२/६३ सालको परिवर्तन यसका उदाहरण हुन्,' दाहालले भने ।
उनले अहिलेको चुनाव प्रतिगमन र अग्रगमनका बीचमा भइरहेको दाबी गरे । 'एकातिर हामी पाँचदलीय गठबन्धन चुनावमा होमिएका छौं भने अर्कोतिर एमाले वा केपी ओलीको नेतृत्वमा राजावादी, अलगाववादी र अतिवादीहरुको अर्को गठबन्धन छ, त्यसैले जनताले फैसला गर्ने दिन आएको छ,' दाहालले भने ।
प्रचण्डले गठबन्धन खण्डित गर्न एक शक्ति लागि रहेको आरोप समेत लगाए । ‘गठबन्धनलाई खण्डित गर्न एकशक्ति लागिपरेको छ, तर त्यसको केही असर पर्नेवाला छैन,' उनले भने । 'शेर बहादुरजी, माधवजी र मेरो बीचमा असमझदारी गराउने खेल भइरहेको हामीलाई राम्ररी थाहा छ ।'
उनले देउवालाई गठबन्धनका पक्षमा दृढताका साथ उभिएको भन्दै धन्यबाद पनि दिए ।‘म प्रधानमन्त्री शेरबहादुरजीलाई विषेश धन्यबाद दिन चाहन्छु की उहाँ यो पटक बडो दृढतापूर्वक गठबन्धन र प्रतिगामी तत्वकाविरुद्ध दह्रो रुपमा उभिनु भएको छ ।'