डोटीबासीलाई प्रचण्डले भने- हामीलाई जिताउनुस्, केही योजना लिएर आउछौं
डोटी : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका निम्ति पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन गनुरोध गरेका छन्।
डोटीको लिपायलमा सोमबार आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। ‘देशमा एकातर्फ वाम लोकतान्त्रिक गठबन्धन र अर्कोतर्फ एमालेलाई संकेत गर्दै प्रतिगामी खालको राजवादीहरुको गठबन्धन छ,’ प्रचण्डले भने, ‘संविधान, संघीयता तथा लोकतान्त्रिक गणतन्त्र रक्षाका निम्ति पाँच दलीय वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुहोला।’
चुनाबी सभालाई सम्बोधन गर्दै प्रचण्डले डोटीको विकासका लागि जुनसुकैबेला तयार भएको बताए। ‘खुटिया दिपायल द्रूत राजमार्ग, पश्चिम सेती परियोजना, एकीकृत खप्तड पर्यटन विकासका लागि म सदैव सकारात्मक रहेको र हाम्रै नेतृत्वमा यी कामहरु गर्नेछौं,’ प्रचण्डले भने, ‘हामीलाई जिताउनुहोस्, तपाईँहरुमाझ फेरि केही योजना ल्याएर आउनेछौं।’
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा संविधानसभा सदस्य हर्कबहादुर सिंह, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, कर्णाली प्रदेशका पूर्ब मुख्यमन्त्री महेन्द्र शाही, सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीलगायत नेताहरुको उपस्थिति रहेको थियो।
डोटीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी गठबन्धन गरेर स्थानीय निर्वाचन लड्दैछ भने नेपाली कांग्रेस, नेकपा एमाले एक्ला-एक्लै चुनावमा होमिएका छन्।