एमालेले ६० प्रतिशत बढी पालिकामा जित्छ : ईश्वर पोखरेल
काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशत बढी पालिका जित्ने बताएका छन्। काठमाडौंको टोखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशभरि एमालेको लहर छाएको बताए।
'अहिले देशभरि एमालेको लहर चलेको छ। परमादेशी गठबन्धन एमालेलाई हराउन लागे पनि एमालेको देशभरि लहर चलेको छ,' उनले भने।
उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसमा प्रवेश गर्न सुझाव दिए। 'माओवादी केन्द्रले आफ्नो घोषणा पत्रसमेत जारी गर्न आवश्यक ठानेन्, माओवादीले कांग्रेसले जारी गरेको घोषणा पत्र नै आफ्नो ठानेको छ,' उनले भने।
पाँच दलीय गठबन्धन राजनीतिक स्थायित्वको विरुद्धमा तथा राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको विरुद्धमा रहेको पोखरेलको भनाइ छ। आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने प्रधानमन्त्री पत्नी आरजु देउवाको अभिव्यक्तिप्रति विमती जनाउँदै पोखरेलले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताए। 'बजेट तिनको घरको सम्पत्ति होइन्, विकास निमार्णका लागि बजेट पाउने सबैको अधिकार छ,' उनले भने।