एमाले कार्यकर्ताद्वारा राप्रपाका उम्मेदवार कुटिए
जनकपुरधाम : धनुषामा राप्रपाका उम्मेदवार माथि सामूहिक हमला भएको छ। जिल्लाको सबैला नगरपालिकामा एमालेका नेता कार्यकर्ताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारमाथि सामूहिक हमला गरेको हो।
सबैला नगरपालिका-४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले संघातिक आक्रमण गरेको राप्रपाले जनाएको छ। सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति निकालेर राप्रपा वडा सदस्यका उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि उम्मेदवारसहित परिवार माथि नै आक्रमण गरेको उल्लेख गरेका छन्।
मियाको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ। प्रवक्ता श्रेष्ठले यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न माग गरेको छ।