‘कांग्रेसले नेतृत्व गरेका पालिका उत्कृष्ट’
काठमाडौं /धनगढी : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेलाई भोट नदिन अपिल गरेका छन्। ‘दुई तिहाईको सरकार भएर पनि ओलीजीले संसद भंग गरे। उनले प्रदेश सभाहरू पनि भंग गर्ने तयारी गरेका थिए, अझ पनि उनैलाई जिताउनु भयो भने फेरी संसद भंग गरिदिन्छन्’ धनगढीको रंगशालामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने।
कांग्रेसको खण्डनसँगै स्पष्टिकरण
नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेको भन्दै अब जनतासमक्ष भोट माग्न जानुको अर्थ नभएको बताएको छ।
प्रवक्ता महतले कार्यसम्पादन सूची सार्वजनिक गर्दै संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले गरेको संस्थागत स्वःमूल्यांकनमा उत्कृष्ट १० मध्ये ६ वटा नेपाली कांग्रेसका प्रतिनिधिले नेतृत्व गरेका पालिका परेको देखिएको बताए। उनले भने, ‘कमजोर १० मा आधा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिले नेतृत्व गरेका पालिकाहरू परेका छन्।
जनताको सेवा र स्थानीय विकासमा कांग्रेसका प्रतिनिधिहरू अन्य दलका प्रतिनिधिभन्दा अब्बल सावित भएको यो बलियो प्रमाण हो।’ प्रवक्ता महतले कांग्रेसले २०४८ सालमा सत्ताको बागडोर सम्हाल्दा नेपालमा गरिबी झण्डै ४९ प्रतिशत रहेको बताउँदै अहिले त्यो घटेर १७.५ प्रतिशत पुगेको बताए। २०४८ सालको निर्वाचन पछिको कांग्रेसको सरकारले अंगीकार गरेको उदार, खुला बजारमुखी, प्रतिस्पर्धात्मक आर्थिक तथा विकास नीतिले देशमा उद्योग र व्यापार, बैंक तथा वित्तीय संस्था, पुँजी बजार, हवाइ क्षेत्र, शिक्षा, स्वास्थ्य, बीमा, घर–जग्गा तथा आवास विकास, निर्माण क्षेत्रमा आशातीत विकास भएको पनि स्विकारेको छ। वैदेशिक रोजगारीको अवसरले नेपालको अर्थतन्त्र र ग्रामीण तथा शहरी गरिबी घटाउन ठूलो मद्दत पुगेको पनि डा. महतले प्रष्ट पारे।
कांग्रेसले नै ऊर्जा संकटबाट देशलाई लोडसेडिङ मुक्त गराएको भन्दै विद्युत् आयात गर्ने अन्तरदेशीय ढल्केबार मुजफपुर प्रशारण लाईन र सबस्टेशन निर्माणको कामको सुरुआत कांग्रेसले गरेको बताए।
स्थानीय जनताका आवश्कता र इच्छालाई पूरा गर्ने यो संकल्पमा निहित नीति र कार्यक्रम आउनासाथ प्रतिस्पर्धी राजनीतिक दल ओली निकै उत्तेजित र आक्रोशित भएर कांग्रेस प्रति गालि गलोजमा उत्रिएको पनि प्रवक्ता महतले बताए।
जनताले फैसला गर्ने दिन आएको छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष ओली अलगाववादी भएको आरोप लगाए। उनले, अहिलेको चुनाव प्रतिगमन र अग्रगमनका विचमा भईरहेको दाबी गरे। ‘एकातिर हामी पाँचदलीय गठबन्धन चुनावमा होमिएका छौं भने अर्कोतिर एमाले वा केपी ओलीको नेतृत्वमा राजवादी, अलगाववादी र अतिबादीहरूको अर्को गठबन्धन छ, त्यसैले जनताले फैसला गर्ने दिन आएको छ’ दाहालले भने।
प्रजातान्त्रीक शक्ति र बामपन्थी शक्ति मिलेका बेला, देशमा ठुलो राजनीतिक परिवर्तन भएको बताए।
‘नेपालको ईतिहासमा जतिजति बेला प्रजातान्त्रीक शक्ति र बामपन्थी शक्ति एकअर्कामा समझदारी बनाएर अघि बढेका छन, त्यती त्यती बेला देशमा ठुलो राजनीतिक परिवर्तन आएको छ। २०४७ सालको परिवर्तन, १२ बुँदे समझदारी र २०६२/६३ सालको परिवर्तन यसका उदाहरण हुन’ दाहालले भने। उनले, गठबन्धन खण्डित गर्न एक शक्ति लागि रहेको आरोप समेत लगाए। ‘गठबन्धनलाई खण्डित गर्न एकशक्ति लागि परेको छ, तर त्यसको केही असर पर्ने वाला छैन’ उनले भने। ‘शेर बहादुर जी, माधव जी र मेरो बिचमा असमझदारी गराउने खेल भईरहेको हामीलाई राम्ररी थाहा छ।’
उनले देउवालाई, गठबन्धनका पक्षमा दृढताका साथ उभिएकाले धन्यबाद पनि दिए।‘म प्रधानमन्त्री शेरबहादुर जीलाई विषेश धन्यबाद दिन चाहन्छु की उहाँ यो पटक बडो दृढतापूर्वक गठबन्धन र प्रतिगामी तत्वका विरुद्ध दह्रो रुपमा उभिनु भएको छ।’