न उम्मेदवार पुग्छन्, न त विकास नै

न उम्मेदवार पुग्छन्, न त विकास नै

अछाम : कर्णाली आफ्नै गतिमा बगिरहेको छ। रहफका जनता त्यही कर्णाली हेरेर घुटुघुुटु पानी तिर्खा मेटाउँछन्। न सडक, न बिजुली, न त खानेपानीकै राम्रो प्रबन्ध। अछामको दुर्गम रहफमा न उम्मेदवार, न त कुनै चुनावी माहोल नै। 

सदरमुकाम मंगलसेनबाट निकै टाढा रहफका जनताका लागि ‘विकास’ भनेको कुनै अदृश्य परि झैं लाग्छ। ‘गाडी चढौंला भन्ने त सपना मात्र भयो,’ रहफका मिनबहादुर बड्थापाले भने, ‘चुनावका बेला नेताहरू फाट्टफुट्ट देखा पर्छन्। अरु बेला त खै ? हाम्रा दुःख जहिल्यै उस्तै।’ ०७४ को चुनावका बेला गाउँमा सडक ल्याइदिने, गाडी पुर्‍याइदिने र खानेपानीका धारा जोडिदिने सपना बाँडदै नेताहरूले भोट मागेका थिए। तर, चुनाव जितेपछि ५ वर्षसम्म नेताहरू गाउँमा देखा नै नपरेको बडथापाले गुनासो गरे। यसपटक त भोट माग्न न कुनै उम्मेदवार पुगेका छन्, न त त्यहाँ कुनै चुनावी रौनक नै छ। 

कर्णाली नदीको छेउमा रहेको रहफ पुग्न तुर्माखाँदबाट गाडी र पैदल यात्रा गर्नुपर्छ। तुर्माखाँद गाउँपालिकाको केन्द्रबाट २ नम्वर वडाको भुलसम्म ३ घण्टाको गाडीमा यात्रा गर्नुपर्छ। त्यसपछि ७ घण्टा पैदल हिँडेपछि मात्रै रहफ आउँछ। सदरमुकाम मंगलसेनबाट रहफ जति टाढा छ,  विकासका दृष्टिकोणले त्यति नै पर छ।  जनप्रतिनिधिले वेवास्ता गरेपछि स्थानीयले आफ्ना समस्या समाधान गरिदिन प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीसँग आग्रह गरेका छन्। सिडिओ अधिकारी मतदान स्थलको अनुगमनका क्रममा हालै रहफ पुगेका थिए। कर्णाली पारी दैलेख जाने सडक छ। त्यो सडकमा रातदिन गाडी गुड्छन्। पारी गुडेका गाडी हेर्दै रहफका जनताले रमाइलो मान्ने गरेका छन्। स्थानीय वडथापाका अनुसार रहफ आउनेहरू सदरमुकाम मंगलसेन भन्दा पनि दैलेख जाने सडक भएर त्यहाँ पुग्ने गर्छन्। 

०७४ सालमा गाउँमा भोट माग्न आउने सबै पार्टी र नेताको प्राथमिकता नै सडक बनाइदिने भन्ने थियो। तर, रहफका जनताका लागि सडक सपना जस्तै छ।  भौगोलिक रुपमा पनि रहफ विकट छ। गाउँपालिकाको केन्द्र पुग्न करिब ३६ घण्टाको पैदल यात्रा गर्नुपर्छ। एक वडाबाट अर्काे वडा पुग्न समेत ७ घण्टा बढी समय लाग्छ। रहफका बासिन्दालाई औषधि उपचार गर्न वा दैनिक उपभोग्यका सामाग्री किनमेल गर्न अछाम भन्दा दैलेख र सुर्खेत नजिक पर्छन्।  

स्थानीय तह निर्वाचनको रहफमा खासै प्रभाव छैन। केही घरमा फाट्टफुट्ट पार्टीका झण्डाहरू मात्रै देखिन्छन्। प्रायःलाई चुनावको मतलव नै छैन। स्थानीय अमृता नेपालीलाई स्थानीय तह चुनावमा कुन पार्टीका को उम्मेदवार बनेका छन् भन्ने जानकारी नै छैन। अमृताका अनसार ०७४ को स्थानीय तहको निर्वाचनमा भोट माग्न आउनेले रहफमा बाटो, खानेपानी र बिजुली पुर्‍याउने भनेर ठुल्ठुलो स्वरमा भाषण गरेका थिए। ‘त्यही आशामा भोट दियौं, तर, कसैले पनि केही गरेनन,’ अमृताले भनिन्। 

६५ वर्षिया अमृताका छोराबुहारीको मृत्युपछि चार नातिनातिनीको जिम्मेवारी  काँधमा छ। गत साउनमा छोराको मृत्यु भयो। गर्भवती अवस्थाकी बुहारीले समयमा उपचार नपाउदा गत असोजमा मृत्यु रोज्नुपर्‍यो। ‘गाउँमा गाडी पुगेको भए वा नजिकै स्वास्थ चौकी भएको भए बुहारीको ज्यान बच्ने थियो कि ?’ अमृता भन्छिन्,‘ हाम्रा दुःख कसले बुझने ?’  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.