जागिर छाडेपछि तनावमा थिइन् सञ्जु

जागिर छाडेपछि तनावमा थिइन् सञ्जु

काठमाडौं : सञ्जु चौधरी नेपालको भारोत्तोलनकी कुशल खेलाडी हुन्। उनले सानै उमेरमा रहरलाग्दो परिचय बनाएकी थिइन्। १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत भारोत्तोलनमा उनले स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन्।  महिलाको ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन्। उनी सागमा भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो महिला खेलाडी पनि हुन्।

सञ्जुले १३औं सागमा स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै तीनै स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्। सञ्जु यही बैशाख १७ गते भएको एसियाली खेलकुदको लागि भएको प्रारम्भिक छनोटमा ५५ केजीमा पहिलो भएकी थिइन्। 

सानै उमेरमा गौरवमय इतिहास रचेकी सञ्जुले खेलेको अब हेर्न नपाइने भएको छ। मंगलबार बिहान ६ नबज्दै उनले संसार छाडिन्।  भारोत्तोलन खेलाडी सञ्जु चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्। ललितपुरको लुभूस्थित सञ्जय महर्जनको घरको भुइँतल्लाको कोठामा चौधरी मृत भेटिएकी हुन्। नेपालगन्जमा राम्रो तालिम भएन भन्दै भारोत्तोलन प्रशिक्षक सञ्जय मर्हजनलाई उनले फोन गरेकी थिइन्। त्यसपछि मर्हजनकै घरमा उनी केही हप्ता अघिदेखि बसेर प्रशिक्षण गर्दै थिइन्। 

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले दिउँसो सञ्जुको शवलाई श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्मा राखिएको थियो। त्यसपछि शवलाई उनको काकाको जिम्मा लगाएर बाँके पठाइएको उनले जानकारी दिए। पाटन अस्पतालमा भएको पोस्ट्मार्टममा उनको मृत्युको कारण आत्महत्या नै भएको देखिएको उनले बताए।

नेपाल प्रहरीकी भारोत्तोलन खेलाडी टीका गुरुङ आफूसँग सँगै खेल्ने हिम्मतीले सञ्जुको मृत्युको खबरले विक्षिप्त बनेकी छन्। उनी केही दिनअघि सञ्जुसँगको भेटघाट र कुराकानी सम्झँदै भक्कानिइन्। गुरुङका अनुसार नेपाल प्रहरीकी जागिरे सञ्जुले भारोत्तोलनमै केही गर्ने भनेर जागिर छाडेकी थिइन। ‘केही दिन अघि भेट्दा निकै तनावमा देखिन्थिन्। के भएको हो भनेर सोध्दा, व्यक्तिगत कुरा हो भन्दै टारेकी थिइन्। म त के गर्ने होला कसो गर्ने होला भन्दै छटपटिएकी थिइन्’, टीकाले भनिन्। प्रहरीको जागिर छाडेपछि उनी पारिवारिक र आर्थिक तनावमा भएको उनका निकटस्थहरू बताउँछन्।  

उनका प्रशिक्षक सञ्जय महर्जन सञ्जुको मृत्युले विक्षिप्त बनेका छन्। ‘केही समस्या भए त सुनाउनु पर्ने हो। त्यस्तो केही पनि भनेकी थिइनन्’, उनी भन्छन्। संधै बिहान उठेर तालिममा जाने सञ्जु बिहान ६ बज्दा पनि नउठेपछि महर्जन आफै बोलाउन गएका थिए। ‘ढोकामा गएर बोलाएँ। फोन पनि गरें। न फोन उठ्यो न भित्रबाट कुनै आवाज नै आयो’, उनी भन्छन्, ‘पछाडि गएर झ्यालबाट हेरेको सलमा झुन्डिरहेकी थिइन्।’ 
सञ्जु निकै मेहनती खेलाडी थिइन्। खेल्नका लागि जस्तोसुकै कठिनाइसँग पनि लड्ने हिम्मत राख्थिन्। ‘केही समस्या भएको भए हामीलाई भन्दा हुन्थ्यो नि। म त केही भन्न सक्ने अवस्थामै छैन’, सञ्जय भन्छन्, ‘मेरो घरमा जात्राको भोज थियो। हाँसीखुसी नै थिइन्। सबै अतिथिहरूसँग कुराकानी गर्ने र खानेकुरा बाँड्ने गरिरहेकी थिइन्।’ 

सञ्जयका अनुसार सञ्जु निकै सम्भावना भएकी खेलाडी हुन्। एसियाली खेलकुदमा उत्कृष्ट पाँचभित्र पर्ने लक्ष्यका साथ प्रशिक्षण गरिरहेकी थिइन्। ‘उनले के कारणले मृत्युको बाटो रोज्न पुगिन् भन्ने रहस्यमै छ। उनको निधनले देशले एउटा होनहार खेलाडी गुमाएको छ’, सञ्जय भन्छन्। सञ्जुले सोमबार राति आफ्नो फेसबुकमा हिन्दी टेलिशृंखलाको सानो भिडियो सेयर गर्दै ‘मिसिङ यू लभ’ लेखेकी थिइन्। 

नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीका अनुसार २४ वर्षीया सञ्जुले ६ महिनाअघि मात्र नेपाल प्रहरीबाट राजीनामा दिएकी थिइन्। केही महिना करारमा काम गरेकी उनले केही समयपछि नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर खाएकी थिइन्। ‘उनले किन प्रहरीको जागिर छाडिन् भन्ने खुलेको छैन। केही राम्रो अवसर पाएका कारण छाडेको हुनसक्छ’, प्रवक्ता केसी भन्छन्, ‘भारोत्तोलनमा आउनुअघि सञ्जु क्रिकेट र एथलेटिक्सका खेल पनि खेल्थिन्। पुलिस छाडेपछि भने आर्मीको टिमसँग प्रशिक्षण गर्थिन्।’  

राखेपमा अन्तिम श्रद्धाञ्जली

पोस्ट्मार्टमपछि सञ्जु चौधरीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा राखिएको थियो। उनको पार्थिव शरीरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए। यसैगरी नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, राखेपका प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, खेलाडी, कर्मचारी र खेलकर्मीहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
बाँकेको राप्ती सोनारी गाउँपालिकाकी सञ्जुले २०७६ मा आफ्नै देशमा भएको १३औं सागमा जितेको स्वर्ण पदक भारोत्तोलनमा नेपाली महिला खेलाडीले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो। नेपाली महिला भारोत्तोलन खेलाडीले पाएको त्यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक पनि हो। सन् २०१७ मा भएको एसियन युथ एन्ड जुनियर च्याम्पियनसिपदेखि उनी चर्चामा आएकी थिइन्।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.