मोदी भ्रमणमा द्विपक्षीय भेटवार्ता हुने

मोदी भ्रमणमा द्विपक्षीय भेटवार्ता हुने

लुम्बिनी/ भैरहवा : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको तयारी तीव्र पारिएको छ। २५६६औं बुद्धजयन्तीको अवसरमा जेठ २ गते उनले लुम्बिनी भ्रमण गर्नेछन्। यो मोदीको चौथो नेपाल भ्रमण हो।

भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी नदिए पनि लुम्बिनीमा तयारी तीव्र्र पारिएको छ। नजिकै रहेको उत्तर प्रदेशको कुशीनगरबाट हेलिकप्टर चढेर मोदी लुम्बिनी आइपुग्ने बताइएको छ। त्यसका लागि लुम्बिनीमा चारवटा हेलिप्याड बनाइँदैछ। मायादेवी मन्दिरको सरसफाइ गरी रंगरोगनसहित चिटिक्क पारिएको छ। मायादेवी मन्दिरमा पूजाअर्चनाबाट मोदीको नेपाल भ्रमणको कार्यक्रम सुरु हुनेछ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हालै भारत भ्रमणको क्रममा समकक्षी मोदीले नेपाल भारत सम्बन्ध उदाहरणीय रहेको बताएका थिए। त्यसपछि अहिले मोदीको लुम्बिनी भ्रमणले पनि दुई देशको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ। यसअघि मोदी नेपाल आउँदा जनकपुर र मुक्तिनाथधामको भ्रमण गरेका थिए। लुम्बिनी भ्रमणको कार्यक्रम अन्तिम अवस्थामा स्थगित गरिए पनि अहिले लुम्बिनीका लागि मात्रै आउन लागेका छन्।

आए मोदीका सुरक्षाकर्मी 

बुधबार मात्रै दिल्लीबाट भारतीय वायुसेना कोइलुसियन आईसी–७६ एमडी विमानमा मोदीका सुरक्षार्की लुम्बिनी आएका छन्। उनको सुरक्षार्थ स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी) को ४५ जनाको टोली गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर लुम्बिनी पुगेका छन्। 

एसपीजीका वरिष्ठ सुरक्षा अधिकारी रवि कुमारको नेतृत्वमा ४५ जनाको टोली साना हतियार, ‘सुरक्षा सामग्री’ र लगेजसहित आएका हुन्। यसका अलावा मोदीको सुरक्षार्थ थप सुरक्षाकर्मीसमेत आउनेछन्। भारतीय प्रधानमन्त्री मोदी र सुरक्षाकर्मीले प्रयोग गर्ने चार वटा विशेष गाडीसमेत उक्त विमानमा ल्याइएका छन्। भारतीय वायुसेनाको विमान भने सुरक्षाकर्मी र गाडी छाडेर दिल्ली फर्किएको छ। 

सुरक्षा संयन्त्र सक्रिय

मोदीको भ्रमण तय भएपछि लुम्बिनीमा भारतीय सुरक्षा अधिकारीहरूको आवत्जावत बाक्लिएको छ। मुलुकका चारवटै सुरक्षा निकायहरू नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरी लुम्बिनीको सुरक्षामा निकै सक्रिय छन्। 

यस्तो छ भ्रमण तालिका

सुरक्षा स्रोतका अनुसार प्रधानमन्त्री मोदी भारतको कुशीनगर जिल्लामा निर्माण भएको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेर हेलिकप्टरमार्फत दिउँसो १२ बजे लुम्बिनी आउनेछन्। म्युजियम नजिकै रहेको हेलिप्याडमा उनी सवार हेलिकप्टर अवतरण हुनेछ। बुद्धजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवासमेत लुम्बिनी आउनेछन्। जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्यक्रम छ। मोदीले लुम्बिनीमा मायादेवी मन्दिरमा पूजाआजा र ध्यान गर्नेछन्।

त्यसपछि सन् २०१४ मा नेपालमा भारतका लागि तत्कालीन राजदूत रञ्जित रेले मायादेवी मन्दिर परिसरमा (मन्दिरदेखि ३० मिटर पर) वृक्षरोपण गरेको बोधिवृक्षमा पानी सिञ्चित गर्ने कार्यक्रम छ। यसअघि मोदीको लुम्बिनी भ्रमण स्थगित भएपछि उनले वृक्षरोपणका लागि बोधिवृक्ष पठाएका थिए। त्यसपश्चात पुनः पर्सा चोक, लोखडिया चोक हँुदै नौ नम्बर गेटभित्र रहेको प्लटमा भारतले अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेसन (आईबीसी) मार्फत निर्माण गर्न लागेको बिहारको शिलान्यास गर्नेछन्। दिउँसो  पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा हुने बुद्धजयन्ती कार्यक्रममा सहभागी हुनेछन्।

मोदी–देउवा बैठक

भारतीय प्रधानमन्त्री मोदी होटल पवन प्यालेसको ‘स्विट रुम’ मा विश्रामका लागि जाने तालिका छ। उक्त होटल पूरै खाली गराइएको छ। भारतीय सुरक्षा टोलीले उक्त होटललाई केही दिन अघिदेखि नै निगरानीमा राखेका छन्। देउवा र मोदीबीच त्यही होटलमा भेटवार्ता हुनेछ। बैठकमा कुनै विषयको सम्झौता हस्ताक्षर हुने बताइए पनि बैठकका एजेन्डाहरू सार्वजनिक भने गरिएको छैन। बैठकपश्चात् संयुक्त रूपमा पत्रकार सम्मेलन गरिने बताइएको छ। मोदीले होटलमा करिब एकदेखि डेढ घण्टा बिताउनेछन्।

होटलमा कार्यक्रम सकिएपछि दुवैजना बुद्ध जयन्तीको अवसरमा निर्माण सम्पन्न सभाहलमा आयोजित कार्यक्रममा जानेछन्। त्यहाँ मोदीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। त्यसपश्चात् सोही साँझ भारत फर्किने तालिका छ। ‘हालसम्म कार्यक्रम तालिका यही हो र यहीअनुसार सबै तयारी भइरहेको छ’, स्रोतले अन्नपूर्णसँग भन्यो, ‘तर भीभीआईपी भ्रमण भएकोले अन्तिम अवस्थामा कार्यक्रम फेरबदल पनि हुने सम्भावना रहन्छ।’ मोदीको भ्रमणबारे लुम्बिनी विकास कोष र सुरक्षा अधिकारीहरूले औपचारिक रूपमा कुनै जानकारी दिन चाहेका छैनन्।

बुद्ध सर्किट प्राथमिकतामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा लुम्बिनीको विकासमा भारतको सहयोग र बुद्घसर्किट विकासका विषयमा छलफल हुने भएको छ। नेपाल र भारतबीचमा बौद्ध धर्मसम्बन्धी ऐतिहासिक स्थान जोड्न २०७१ मै बुद्ध परिक्रमा पथ (बौद्ध सर्किट) बनाउनेमा दुई देशबीच सहमति भएको थियो। तर, अहिलेसम्म अघि बढ्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.