शोधनान्तर घाटा २ खर्ब ६८ अर्ब
काठमाडौं : चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब घाटामा गएको छ। जबकि अघिल्लो वर्ष यसै अवधिमा ४२ अर्ब ५४ करोडले बचतमा थियो। मुलुकमा भित्रिनेभन्दा बाहिरिने रकम धेरै भएपछि शोधनान्तर स्थिति घाटामा गएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू खाता पनि ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा छ। गत आर्थिक वर्षको सोही अवधिमा चालू खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो। यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। तर गत आव खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१२ अर्ब ३५ करोड रहेको थियो।
घट्दै डलरको सञ्चिति
विदेशी मुद्रा सञ्चिति पनि क्रमशः घट्दै गएको छ। असारको तुलनामा कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ। गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो। गत असारमा ११ अर्ब ७५ करोड रहेको थियो। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ सय ५४ अर्ब ३९ करोड रहेकामा चैत्र मसान्तमा १ सय ४६ अर्ब ४८ करोड कायम भएको छ।
९ महिनाको आयातलाई आधार मान्दा उक्त सञ्चिति ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। तर गत फागुनमा यस्तो सञ्चिति ६.७ महिनालाई धान्न पुग्ने थियो। वस्तुको मात्रै आयात गर्ने हो भने अहिलेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको आयात धान्न पुग्ने राष्ट्र बैंकले बताएको छ।
राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ९ महिनाको आर्थिक तथा वित्तीय स्थितिलाई हेर्दा मूल्यवृद्धिको चाप झन् बढ्दो छ। विदेशमा रोजगारी गर्न जानेको संख्या बढे पनि विप्रेषण अपेक्षाअनुसार बढ्न सकेको छैन। ‘अर्थतन्त्र संकटतर्फ उन्मुख भनिरहँदा नौ महिनाको तथ्यांकले सुधार भएको देखाउने अपेक्षा गरेका थियौं तर तथ्यांक हेर्दा अर्थतन्त्रका सूचकहरू सुधार हुन लागेको देखिँदैन,’ अर्थविद् डा. डिल्लीराज खनाल भन्छन्, ‘सरकारले आयातमा कडाइ गरे पनि तुलनात्मक रूपमा अझै नियन्त्रणमा आउन सकेको छैन।’
चालू खाता र भुक्तानी सन्तुलन तथा शोधनान्तर घाटा उच्च नै रहँदा यसको दबाब विदेशी मुद्रा सञ्चितिमा परेको उनले बताए। विप्रेषण घट्दै जानु खतरापूर्ण भएको उनको भनाइ छ। उपभोग्य वस्तुको मूल्य चर्को रूपमा बढ्दै गएको छ। राष्ट्र बैंककै तथ्यांकलाई केलाउँदा बजारमा घिउ तथा तेल, दुग्ध पदार्थ तथा अन्डा, दाल तथा गेडागुडीजस्ता खाद्य तथा पेय पदार्थको मूल्य अत्यधिक बढ्दा समग्रमा मुद्रास्फीति चुलिँदै गएको छ। दिनप्रतिदिनको मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकिन थालेको छ। चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत छ। गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थलगायतको मूल्य बढेकाले समग्रमा महँगी बढेको हो।
गत वर्षको तुलनामा चालू आवको ९ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घिउ तथा तेलको सबैभन्दा बढी मूल्य बढेको छ। घिउ तथा तेलको मात्रै २८.३६ प्रतिशतले मूल्यवृद्धि बढेको छ। यस्तै, दुग्ध पदार्थ तथा अन्डाको मूल्य ११.५६ प्रतिशतले बढेको छ। दाल तथा गेडागुडीको महँगी १०.५३ प्रतिशतले बढेको छ। यस्तै, सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ८.९१ प्रतिशतले बढेको छ। यस्तै, यातायात, शिक्षा र विविध वस्तु तथा सेवाको पनि मूल्य बढेको छ।