रसुवामा प्रत्येक मतदान केन्द्रमा त्रिपालको व्यवस्था
रसुवा : स्थानीय तहको शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ।
मतदानका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। जिल्लामा मतदान केन्द्रमा कर्मचारी खटाउने, निर्वाचन सामग्री मतदान केन्द्रहरूमा पुर्याउने, सुरक्षाकर्मी खटाउने र मतदान केन्द्रको निर्माण गर्ने लगायतका सबै काम सकिएको छ।
मतदान गर्नका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्रको निर्माण सकिएको छ। यसपटक वर्षाको सम्भावना भएकाले प्रत्येक मतदान केन्द्रमा त्रिपालको व्यवस्था गरिएको छ। मतदान केन्द्रको निर्माण सकिएको र केही काम मात्र बाँकी रहेको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित पार्वतीकुण्ड मावि मतदान केन्द्रका मतदान अधिकृत सीता गुरुङले बताइन्।
निर्वाचनको सबै तयारी सकिएको र बिहान ७ बजेबाट मतदान सुरु गरिने आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङस्थित पार्वतीकुण्ड प्रावि मतदान केन्द्रका सहायक मतदान अधिकृत दीपरमण अधिकारीले बताए। मतदाताहरुको सजिलोको लागि महिला पुरुष छुट्टाछुट्टै रहने लाइन निर्माण, जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरु छिटो मतदान गर्ने व्यबस्था मिलाइएको उनको भनाइ छ।
निर्वाचनमा खटिएका कर्मचारीले सर्बदलीय बैठक राखेर आवश्यक प्रक्रिया अघि बढाएका छन्। बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने नियम, आचारसंहिता, उम्मेदवारका प्रतिनिधि, अशक्त तथा अपाङगता भएका व्यक्तिले मतदान गर्न सहज वनाउने लगायत विभिन्न विषयमा छलफल भएको छ।
यसैगरी नयाँ मतदाताहरुलाई परिचयपत्र वितरण गर्ने काम पनि भइरहेको छ।
निर्वाचनमा २ सय ९४ जना नेपाल प्रहरी, २१९ सशस्त्र प्रहरी र २८८ म्यादी गरी ८ सय १ जना सुरक्षकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए। ‘हामीले मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं’, उनले भने, ‘मतदाताले ढुक्क भएर मतदान गर्न पाउँछन्।’
जिल्लामा निर्वाचनको लागि २ सय ५५ कर्मचारी खटिएका छन्। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्।