तनहुँमा ४० प्रतिशत मत खस्यो
तनहुँ : जिल्लामा बिहान ७ बजेदेखि नै सौहार्द वातावरणमा उत्साजनक रुपमा मतदान भइरहेको छ। दश स्थानीय तह रहेको जिल्लामा दिउँसो चर्को घाम लाग्ने हुँदा बिहानै मतदाताहरु मतदान गर्न पुगेका हुन्। ज्येष्ठ नागरिक, अपांग, अशक्त र बिरामीहरुलाई लाइनमा नबसीकन सिधैँ मतदान गर्न पाउने व्यवस्था मिलाईएको छ।
कुनै मतदान स्थलमा भने लाइन व्यवस्थित नभएको भन्दै मतदाताले गुनासो गरेका छन्। जिल्लाको शुक्लागण्डकी नगरपालिका–६, खैरेनीटार माध्यमिक विद्यालयमा मतदान गर्न गएका नेपाल बार एशोसियसन तनहुँका अध्यक्ष भानुभक्त सुवेदीले लाइन अस्तव्यस्त भएको गुनासो गरे।
मतदाता चिरञ्जिवी सापकोटाले ५ बजेबाट लाइनमा बसी मतदान गरे। वडाको विकास गर्न सक्षम उम्मेदवारलाई मत दिएको बताउने सापकोटा जनताको अपेक्षा अनुसारको काम हुनेमा विश्वस्त छन्। खैरेनीटार माविका पूर्व प्रधानाध्यापक केशवराज घिमरेले राजनीतिक दलको घोषणा पत्र पढेर शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई जोड दिने पार्टीको उम्मेदवारलाई मत दिएको बताए।
आज भइरहेको मतदानबाट जिल्लाको १० स्थानीय तहको ८५ वडामा ४४४ जनप्रतिनिधि निर्वाचित हुनेछन्। एक हजार ६३५ जना चुनावी मैदानमा छन्। देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भइसकेकी छिन्।
जिल्लाका दुई लाख ४४ हजार ३४० मतदाताले आफ्नो गाउँ, नगर र वडा हाँक्ने जनप्रतिनिधि चयन गर्नेछन्। १३६ मतदानस्थलका २९७ मतदान केन्द्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरी ढकालले जानकारी दिए। समाचार तयार पार्दासम्म सरदर ४० प्रतिशत मत खसेको उनले जानकारी दिए।