बर्दियामा उत्साहपूर्वक मतदान
गुलरिया : बर्दियामा मतदान भइरहेको छ । जिल्लाका गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया बाँसगढी नगरपालिका तथा वढैयाताल र गेरुवा गाउँपालिकामा शान्तिपूर्ण रुपमा निर्वाचन भइरहेको छ ।
मतदाताहरु बिहानैदेखि मतदानस्थलमा मत हाल्न लाइनमा बसेका छन् । बर्दियामा अध्याधिक गर्मी भएपनि मतदाताहरुले प्रवाहै नगरी मतदान गर्न पालो पर्खेर बसेका छन् । बिहान ७ बजेदेखि बेलुकी ५ बजेभित्र मतदान स्थलमा प्रवेश गर्नेहरुले मतदान गर्न पाउने प्रावधान छ । विकास प्रेमी उम्मेदवार चयन गर्न मतदाताहरु आतुर छन् ।
बर्दियामा कुल ३ लाख ११ हजार ४ सय १० मतदाता छन् । जसमध्ये सबैभन्दा बढी बारबर्दिया नगरपालिकामा मतदाता छन् । जिल्लामा १ सय ५३ वटा मतदान स्थल र ३ सय ७१ वटा मतदान केन्द्र छ । निर्वाचनलाई शान्ति पूर्वक सम्पन्न गराउन नेपाल प्रहरी, म्यादी प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना गरी २ हजार ७ सय ५९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । बर्दियामा २९ वटा मतदान स्थलहरु संवेदनशील र १ सय २४ वटा मतदान स्थलहरु सुरक्षाका दृष्टिकोणले स्थानिय प्रशासनले सामान्य वर्गिकरण गरेको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।
मत पेटिकामा मत खसाल्दै स्थानिय महिला तस्बिर : यादव आचार्य