ताप्लेजुङ : मतदान शान्तिपूर्ण रुपमा जारी
ताप्लेजुङ : एक नगरपालिका र ८ वटा गाउँपालिकासहित ९ स्थानीय तह रहेको ताप्लेजुङमा मतदान प्रक्रिया शान्तीपूर्ण रुपमा जारी छ। ताप्लेजुङमा सबैभन्दाबढी मत सिरिजंगा गाउँपालिकामा खसेको छ। त्यहाँ २८ प्रतिशत मतदान भएको छ।
यसपछि सिदिङवा गाउँपालिकामा २५ प्रतिशत मतदान भएको छ। यो साढे ११ बजे सम्मको तथ्याङक हो। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार सबैभन्दा कम फक्ताङलुङ गाउँपालिकामा ११ प्रतिशत मतदान भएको छ।
यता फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा राजनीतिक दलको एजेण्ट नभएपछि वर्तमान वडाध्यक्ष र आगामी पाँच वर्षका लागि स्वतन्त्रबाट निर्विरोध निर्वाचित जनप्रतिनिधिलाई साक्षी राखेर मतदान सुरु भएको छ।
पहिलो मत स्वतन्त्रबाट निर्वाचित छेतेन लामा शेर्पाले गरेका छन् भने सदस्य टाँसी शेर्पालगायतले पनि मत खसाएका छन्। ओलाङचुङगोलामा खटिएका मतदान अधिकृत मोहन अर्यालका अनुसार दलको कोही पनि एजेण्ट नआएपछि मतदान सुरु हुने मुचुल्कामा उनीहरुलाई हस्ताक्षर गराइएको हो।
यस केन्द्रमा २ सय ७६ मतदाता रहेका छन्। तर यहाँ ७० देखि ९० भोटसम्म खस्ने स्थानीयको आकलन छ। जिल्लाबाहिर भएका मतदाता नआएकाले बस्तिमा भएकाले मात्रै मतदान गर्ने स्थानीय बताउँछन्। ताप्लेजुङ जिल्लामा ८९ हजार ६ सय ८० मतदाता रहेकाछन्।