दैलेख : कतै झडप, कतै विवाद, भीडलाई नियन्त्रण लिन हवाई फायर
दैलेख : नयाँ संविधान जारी भएपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमा दैलेखमा उत्साहपूर्ण मतदान भइरहेको छ। मतदाताहरु बिहानैदेखि लाइनमा बसेर आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन्। मतदान केन्द्रहरुमा मतदाताको बाक्लो भीड रहेको छ।
यद्धपी केही मतदान केन्द्रमा झडप र विवाद भएको छ। दैलेखको ठाटीकाँध गाउँपालिका–६ को मालिका माविमा रहेको मतदान केन्द्रमा झण्डै एक घण्टा मतदान रोकिएको थियो। मतदानस्थल बाहिर एमाले र नेमकीपामा कार्यकताहरुबीच विवाद भएपछि मतदान रोकिएको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको छ। उक्त मतदान केन्द्रमा सर्वदलीय बैठक बसेर विवाद समाधान पनि मतदान प्रक्रिया सुरु भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। त्यहाँ अहिले प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। त्यहाँ कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीमाथि पनि हातपात भएको बताइएको छ।
यस्तै दुल्लु नगरपालिका–२ स्थित मालिका आधारभूत विद्यालय धारापानीस्थित मतदान केन्द्रमा एमाले कार्यकर्ताहरुले मतदान गर्न पुगेको मतदातामाथि आक्रमण गरेको स्थानीयले बताएका छन्। आक्रमणपछि उक्त वडाका मतदातासमेत रहेका दैलेखको नारायण नगरपालिकामा कार्यरत सामाजिक विकास अधिकृत खमबहादुर थापासहित उनको परिवारका १० जना घाइते भएको बताईएको छ।
घटनापछि पेशागत नेपालले विज्ञप्ती जारी गरेर दोषीमाथि कारवाहीको माग गरेको छ। घटनापछि केहीबेर रोकिएको मतदान पक्रिया निर्वाधरुपमा सुरु भईसकेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए।
त्यसैगरी दैलेखको आठबिस नगरपालिका–६ मा रहेको भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। कांग्रेस कार्यकर्ता गणेश बहादुर शाहीले दर्जनौँ भोट हालेपछि झडपको अवस्था आएको एमाले नेताहरूले बताएका छन्।
शाहीले धेरैको भोट आफैं हालेको र त्यस्तो नगर्नुस् भन्दा आक्रमण भएको उनीहरूले बताएका छन्। झडपमा एमालेका आधा दर्जन बढी कार्यकर्ता घाइते भएका छन्। अहिले मतपेटिकाहरू सुरक्षित स्थानमा राखिएको छ। मतदान स्थगित भएको छ।
उक्त केन्द्रमा नेपाली सेनाको टोली समेत पुगिसकेको छ। विवाद समाधानको प्रयास भईरहेको र केहीबेरमा मतदान प्रक्रिया सुरु हुने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए। उनका अनुसार जिल्लाभरी ६० प्रतिशत मतदान भईसकेको छ।