रसुवामा ७७ प्रतिशत मतदान
रसुवा : रसुवामा ७७ प्रतिशत मतदान भएको छ। शुक्रबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार जिल्लामा करिब ७७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार अहिले केन्द्रहरूमा मतपेटिका संकलनको काम चलिरहेको छ।
जिल्लामा अहिले शान्तिपूर्ण तरिकाले मतदान भएको छ। जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो। मतदान गर्न ७ बजे अघिदेखि नै मतदाताहरु लाइनमा बसेका थिए।
वृद्धवृद्धा, अशक्त, अपांगतालगायतका नागरिकहरुको पनि उत्साहजनकरुपमा मतदानमा सहभागी भएका छन्। जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको थियो। जिल्लामा ५ वटा गाउँपालिका रहेको छ। जसमा २७ वटा वडा रहेका छन्। जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन्। जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन्। अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ।
जिल्लाको उत्तरगयामा ८ हजार ४ सय २, कालिकामा ८ हजार ६ सय ५६, गोसाइँकुण्डमा ५ हजार ८ सय ९०, नौकुण्डमा १० हजार ५ सय ३७ र आमाछोदिङ्मो गाउँपालिकामा ५ हजार ६० मतदाता रहेका छन्। जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन्।