‘भोट दियौं, अब कालापहाड नपठाऊ’
दैलेख : उमेर ४० वर्ष। घरको गर्जो टार्न कालापहाड पुगेका दैलेखको ठाटीकाँध गाउँपालिका–४ का दिलबहादुर विक मताधिकार प्रयोग गर्न बिहीबार मात्रै गाउँ आइपुगेका हुन्।
उनका लागि भारतमा गरेको मजदुरी नै घरखर्च चलाउने माध्यम बनेको छ। ‘गाउँमा रोजगारी छैन। घरमै बस्दा वर्षभरि खान पुग्दैन, भारतमा कमाउन नगए कसरी बालबच्चा पाल्ने ? भारत नगई बालबच्चाको बिहान साँझको छाक टार्न सकिँदैन्,’ उनी भन्छन् ‘मजदुरीका लागि भारत पुगे पनि गाउँमा जनप्रतिनिधि चुन्न आउनैपर्यो।’
उनी यसपटकको भोट खेर जाँदैन भन्नेमा विश्वस्त छन्। ‘यसअघिको धेरै चुनावमा भोट हालेको छु। अहिलेसम्म हामी कालापहाड जानेहरूका लागि भनेर कसैले केही गरेनन्। अहिलेका उम्मेदवारले कालापहाड जानुपर्ने बाध्यताको अन्त्य गरुन्,’ उनले भने। गाउँमा रोजगारीको सिर्जना गरेर युवा शक्तिलाई गाउँमै रोक्नमा अब निर्वाचित हुने जनप्रतिनिधिको ध्यान जानुपर्ने उनको भनाइ छ। रोजगारीसँगै ग्रामीण भेगमा खानेपानी, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवाको भरपर्दो व्यवस्थापन गर्नुपर्ने दायित्व जनप्रतिनिधिकै रहेको विक बताउँछन्।
दिलबहादुर जस्तै डुंगेश्वर गाउँपालिका–२ का प्रकाश नेपाली उत्साहपूर्वक मतदान गरे। रोजगारीको खोजीमा भारत गएका उनी मतदान गर्न आइपुगेका थिए। २४ वर्षीया नेपाली गाउँमा रोजगारी नपाएपछि भारतका विभिन्न क्षेत्रमा मजदुरी गर्दै आएका छन्। ‘हामी युवाहरूलाई स्थानीय स्तरमै रोजगारी पाउन सकेको भए मजदुरी गर्न भारत धाउनुपर्दैनथ्यो होला,’ उनले भने, ‘यो समस्या जनप्रतिनीधिको
प्राथमिकतामा परोस्।’
भैरवी गाउँपालिका–६ का ८० वर्ष कटेका बाले मिजारले मतदान गरे। जनप्रतिनिधिसँग उनको धेरै अपेक्षा छैन। ‘मेरो त जीवन नै कालापहाड गएर बित्यो, गाउँमा काम नपाउँदा छोरा र गाउँका युवाहरूको पनि भारतमै जीवन बित्ने भयो,’ उनले भने ‘अब चुनिने जनप्रतिनीधिले युवाहरूका लागि गाउँमै रोजगारी सिर्जना गरिदिए हुन्थ्यो।’
नारायण नगरपालिका–६ की कर्नकला सार्कीले आफूले चुनेको जनप्रतिनिधि नागरिकप्रति जिम्मेवार हुनुपर्ने बताइन्। गाउँमै रोजगारी सिर्जना गरेर कालापहाड र विदेशिने युवाहरूलाई रोक्नुपर्ने उनको भनाइ छ। यी कर्णालीका केही प्रतिनिधिमुलक पात्र मात्रै हुन्। कर्णालीमा गाउँमा रोजगारी नहुँदा बालबालिकादेखि रोजगारी नहुँदा मजदुरीका लागि कालापहाड र खाडी मुलकमा छन्। यो समस्याको समाधान मात्रै भए सबै खुसी हुने स्थानीयका भनाइ छ।