महोत्तरीको सोनमा गाउँपालिकामा विवादपछि मतगणना रोकियो
गौशाला : स्वस्तिक छापको विषयलाई लिएर महोत्तरीको सोनमा गाउँपालिकामा विवाद उत्पन्न हुँदा मतगणना कार्यक्रम स्थगित भएको छ । शनिबार मतगणना सुरु भएको १० मिनेटमै विवाद उत्पन्न भएपछि मतगणना कार्यक्रम स्थगित भएको हो ।
सोनमा गाउँपालिका वडा नं. १ को मतगणना जारी रहेको समयमा व्यालेटमा मधुरोरुपमा लगाइएको छापलाई सदर गराउने क्रममा विवाद भएको हो । यसभन्दा अगाडि त्यस्तै मतपत्रलाई सदर गरेको तरपछि आएको मतपत्रलाई वदर गरेको भन्दै कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको हो ।
परिस्थितिलाई साम्य बनाउन अहिले छलफल भइरहेको सोनमाका निर्वाचन अधिकृत दीपककुमार मिश्रले बताए । दुईपक्षलाई सहमतिमा ल्याउने प्रयासलाई निरन्तरता दिने क्रम जारी रहेको मिश्रले जानकारी दिए ।