दैलेखका तीन वडामा कांग्रेस, दुईमा एमाले, माओवादी र नेमकिपा एक/एक वडामा विजयी
दैलेख : दैलेखमा शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम सार्वजनिक भईरहेको छ। शुक्रवार रातदेखि नै सुरु भएको मतगणनाको परिणाम सार्वजनिक भईरहेका छन्। अहिले साढे ३ बजेसम्मको प्रारम्भिक मत परिणाम अनुसार जिल्लाको ९० वटा वडामध्ये ७ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ।
जसमा तीन वटा वडामा नेपाली कांग्रेस, दुई वटा वडामा नेकपा एमाले र माओवादी केन्द्र तथा नेपमल मजदुर किसान पार्टी एक/एक वडामा जीत हात पारेका छन्। नेपाली कांग्रेसले नौमूले गाउँपालिका वडा नम्बर १ र २, गुराँस गाउँपालिका वडा नं. १ मा जीत हात पारेको छ। नौमूले गाउँपालिका वडा नम्बर १ मा रुपेश थापामगर र २ मा दुर्गप्रसाद शर्मा वडाध्यक्ष निर्वाचित भएका हुन्। गुराँस गाउँपालिका वडा नं. १ मा धर्मबहादुर रावल वडाध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै नेकपा एमालेबाट महाबु गाउँपालिका–१ मा सर्वराज सार्की र दुल्लु नगरपालिका–१ मा तर्कबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका हुन्। नेकपा माओवादी केन्द्रले डुङ्गेश्वर गाउँपालिका–१ मा जीत हात पारेको छ। उक्त वडामा माओवादी केन्द्रबाट श्याम राना वडाध्यक्षमा विजयी भएका हुन्।
यो वडामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन थियो। निवर्तमान वडाध्यक्ष एमालेका लोकबहादुर डांगीले गठबन्धनसँग प्रतिस्पर्धा गरेका थिए।
यस्तै नेपाल मजदुर किसान पार्टीले चामुण्डाविन्द्रासैनी नगरपालिकामा जीत हात पारेको छ। उक्त वडामा नेपाल मजदुर किसान पार्टीका उदे कामी वडाध्यक्षमा निर्वाचित भएका हुन्। अहिले जिल्लाका ११ वटै स्थानीय तहमा मत गणना जारी छ।