अन्नपूर्ण–१ दोवाबाट म्याग्दीमा एमालेले खाता खोल्यो
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएका छन्। स्थानीय तह चुनावको हालसम्म म्याग्दीमा सार्वजनिक भएको मतपरिणाम अनुसार जित हाँसिल गर्ने गर्बुजा एमालेको पहिलो उमेद्वार हुन्।
३३२ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका गर्बुजाका प्रतिस्पर्धी कांग्रेसका भविन्द्र गर्बुजाले २२० मत पाए। वडा सदस्यमा एमालेका गोविन चोचाङ्गे, बिर्खबहादुर गर्बुजा, जुनुकुमारी गर्बुजा र शोभा विक निर्वाचित हुनुभएको निर्वाचन अधिकृत जानुका सुवेदीले जानकारी दिइन्।
९९९ मतदाता रहेको दोवामा शुक्रबार भएको निर्वाचनमा ५९९ मत खसेको थियो। दोवाबाट गाउँपालिका अध्यक्षमा एमालेका भरतकुमार पुनलाई ३४१ र कांग्रेसका बलबहादुर फगामीलाई २२१ मत प्राप्त भएको छ।
उपाध्यक्षमा एमालेकी दिवाकुमारी पुनलाई ३४० र कांग्रेसकी ललिता तिलिजा पुनलाई २२५ मत प्राप्त भएको छ।