बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी
बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अध्यक्षमा भरतबहादुर रोकाया र उपाध्यक्षमा मैना जोशी विजयी भएका छन् ।
अध्यक्षका उम्मेदवार रोकायाले २ हजार ११ मत र उपाध्यक्षमा जोशीले १८ सय १० मत ल्याएर विजयी भएका हुन्।
रोकायाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चतुरभुज शाहीले १७ सय ५७ सय मत प्राप्त गरे।
नेकपा एकीकृत समाजवादीका चिरिन्जीवि शाहीले १२ सय ८२ र स्वतन्त्र उम्मेदवार विमलबहादुर शाहीले ३१ मत ल्याए।
त्यस्तै, निर्वाचित उपाध्यक्षकी उम्मेदवार जोशीकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ मत प्राप्त गरिन्। त्यस्तै, माओवादी केन्द्रका सुरेशबहादुर रोकाया १२ सय १३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याए।
नेपाली कांग्रेसका दुबै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए । २०७४ सालमा निर्वाचित रोकाया अहिलेका समाजवादीका उम्मेदवार चिरन्जिवी शाहीसँग पराजय भएका थिए । रोकायाले १७ सय ५६ र शाहीले २४ सय ५९ मत ल्याएका थिए । शाही २०७४ मा एमालेबाट लडेका थिए । नेकपा फुटेपछि शाही नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।
निर्वाचित उपाध्यक्ष मैना जोशीले २०७४ मा नेकपा एमालेका उम्मेदवार मिमा बुढासँग पराजय भएकी थिइन् । मैनाले १६ सय ७९ र मिमाले २३ सय ६० मत ल्याएकी थिइन् । स्वामिकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेको फुटले कांग्रेसलाई फाइदा भएको छ ।
गाउँपालिका १ मा नेकपा माओवादीका अजय बहादुर विक, २ मा नेपाली कांग्रेसका बिष्णुबहादुर बुढा र ३ मा नेकपा एमालेका प्रेमबहादुर कटेल विजयी भएका छन् । वडा नम्बर ४ मा कांग्रेसका सिंह धामी र वडा नम्बर ५ मा अम्मरबहादुर सिंह विजयी भएका छन् ।
अध्यक्षमा निर्वाचित रोकाया नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराका सचिव समेत हुन् । स्वामिकार्तिकमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको गठबन्दन भएको थियो । गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट र उपाध्यक्षमा नेकपा माओवादीबाट लडेका थिए । वडा नम्बर १, २ नेकपा माओवादी र ३, ४, ५ नेकपा एकीकृत समाजवादीले वडा अध्यक्ष पाएका थिए।