भारतका प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै
लुम्बिनी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी आउँदै छन्। नेपालका लागि उनको यो पाँचौं भ्रमण हो। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा २५६६औं बुद्धजयन्तीको अवसर पार्दै मोदी एकदिने भ्रमणमा आउन लागेका हुन्।
मोदी भारतीय बौद्ध सहर कुसीनगरबाट हेलिकप्टरमार्फत सोमबार बिहान १० : ४० बजे लुम्बिनी ओर्लिने तालिका छ। उनको भ्रमण दल भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्रसचिव विनयमोहन क्वात्रासहित ११ सदस्यीय रहनेछ। मोदी लुम्बिनीमा करिब ६ घण्टा बिताएर सोमबारै स्वदेश फर्किने कार्यक्रम छ। मोदीको स्वागत प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने जनाइएको छ। देउवा आइतबार नै लुम्बिनी आएका छन्।
मोदीले लुम्बिनी आउनासाथ मायादेवी मन्दिरमा पूजाआजा गर्नेछन्। पूजामा समकक्षी देउवा पनि सहभागी हुनेछन्। त्यसपछि मोदीले भारत सरकारले निर्माण गर्ने इन्डिया इन्टरनेसनल सेन्टर फर बुद्धिस्ट कल्चर एन्ड हेरिटेज शिलान्यास गर्नेछन्। करिब ३ अर्ब लागतमा जर्मन मन्दिरनजिकै भारतले यो बिहार बनाउन लागेको हो। लुम्बिनीमा भारतले नै निर्माण गरेको अर्काे बिहारसमेत छ।
मोदी भ्रमणकै क्रममा सांस्कृतिक, शैक्षिक एवं प्राविधिक विषयमा सहकार्यका लागि पाँचवटा सम्झौतापत्रमा दुई देशबीच हस्ताक्षरसमेत हुनेछ। लुम्बिनी बौद्ध विश्वविद्यालय र इन्डियन काउन्सिल फर कल्चरल रिलेसन (आईसीसीआर)बीच सम्झौता हुन लागेको हो। दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान हुनेछ।
काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयसँग सेन्टर फर नेपाल एन्ड एसियन स्टडिजको सहकार्य सम्झौता हुनेछ। काठमाडौं विश्वविद्यालयसँग नेपाल एन्ड इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मदरासबीच सम्झौता हुनेछ। लुम्बिनीमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच दुईपक्षीय वार्ता हुनेछ। त्यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट हुनेछ।
मोदी भ्रमणको तयारी पूरा गरिएको लुम्बिनी विकास कोषले जनाएको छ। विकास कोषका कोषाध्यक्ष सिद्धचरण भट्टराईले सजावटसहितका काम सकिएको बताए। मोदीले मायादेवी मन्दिरमा पूजाआजा गर्ने भएकाले झकिझकाउ बनाइएको छ। मायादेवी मन्दिर, बुद्धजयन्तीको मूल समारोह हुने ५ हजार क्षमताका ध्यान केन्द्रलाई झकिझकाउ पारिएको छ। लुम्बिनीको २ नम्बरदेखि ९ नम्बर गेटतर्फको बाटोलाई दुई देश र बौद्ध झन्डा राखेर सजाइएको छ। बिभिन्न स्थानमा प्रवेशद्वारहरू निर्माण गरिएको छ।
बुद्धजयन्तीमा छोटो कार्यक्रम
लुम्बिनीमा यसअघिका बुद्धजयन्ती धुमधाम हुने गरेका थिए। अहिले भने नागरिकले मूल समारोहमा पहुँच नपाउने भएका छन्। विकास कोषले बढीमा २ हजार जना सहभागी हुने तयारी गरेको छ। त्यसका लागि पासप्राप्त व्यक्ति मात्रै सहभागी हुन पाउनेछन्।
मूल समारोह संस्कृतिमन्त्री तथा विकास कोषका अध्यक्ष आलेको अध्यक्षतामा हुनेछ। कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ। मूल समारोहमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले विशेष सम्बोधन गर्नेछन्।
नेपाल–भारत सम्बन्ध अतुलनीय : मोदी
मोदीले नेपाल र भारतको सम्बन्ध अतुलनीय रहेको बताएका छन्। लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा आइतबार वक्तव्य जारी गर्दै उनले आफ्नो भ्रमणले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई अझै गहिरो बनाउने उल्लेख गरेका छन्।
‘नेपालसँगको हाम्रो सम्बन्ध अतुलनीय छ। नेपाल र नेपालबीचको सभ्यता र जनताबीचको सम्पर्कले हाम्रो घनिष्ठ सम्बन्ध दर्शाउँछ,’ उनले लेखेका छन्। बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरमा पूजाआजा गर्न आतुर रहेको उल्लेख गर्दै मोदीले भनेका छन्, ‘लाखौं भारतीयहरूको प्रतिनिधित्व गरेर भगवान् बुद्धको जन्मस्थलमा श्रद्धा अर्पण गर्न पाउँदा मैले सम्मानित महसुस गरेको छु।’