टीकापुरका दुई वडामा नागरिक उन्मुक्तिको प्यानल विजयी
टीकापुर : निलम्बित संसद रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै दोब्बर मतले अग्रता कायम राखेको छ। उक्त पार्टीबाट मेयर पदका उम्मेदवार रामलाल डगौरा थारुले ४ हजार ८९ मतसहित अग्रता कायम गरेका छन्।
दोस्रो स्थानमा रहेका गठबन्धनका तर्फबाट मेयर पदका प्रत्यासी नेपाली कांग्रेसका नवराज रावलको २ हजार २ सय ४९ मत रहेको छ। त्यस्तै एमालेका श्याम खत्रीको १ हजार ५सय ६८ मत रहेको छ।
उपमेयरमा समेत नागरिक उन्मुक्तिकै उल्कादेवी विकले अग्रता लिएकी छन््। उनको ३ हजार १सय ५९ मत छ। दोस्रो स्थानमा रहेका शाहको २ हजार ८सय ३३ मत र तेस्रोमा रहेकी नेकपा एमालेकी उपमा केसीको १ हजार ३सय ९१ मत रहेको छ।
नागरिक उन्मुक्ति पार्टीले दुईवटा वडामा प्यानलसहित जीत निकालेको छ। उक्त पार्टीले वडा नं. ४ र ५ मा प्यानलसहित जित हात पारेको हो। वडा नं. ४ मा यसअघिका वडाध्यक्ष लालबिर चौधरी नै दोहोरिएका छन््। उनी २०७४ को निर्वाचनमा लोकतान्त्रिक फोरमबाट विजयी भएका थिए।
उनले १ हजार २सय ३० मत ल्याएका छन््। त्यस्तै वडा सदस्यमा प्रेमलाल चौधरी १ हजार १सय १७ र दिपेन्द्र चौधरी १ हजार ७२ मत प्राप्त गरेर विजयी भएका छन्। खुल्ला महिला सदस्यमा रुपमति डगौरा थारुले १ हजार १सय ५३ र दलित महिला सदस्य तुलसादेवी वि.क.ले १ हजार २सय १० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
यसैगरी वडा नं. ५ को अध्यक्षमा ८सय २० मत प्राप्त गरेर बलविर थारु विजयी भएका छन्। सो वडामा खुला सदस्यमा कन्हैया चौधरीले ८सय २३ र बलराम चौधरीले ८सय ५९ मत पाएका छन्। त्यस्तै खुल्ला महिला सदस्यमा बासमति कुमारी चौधरीले ८सय ६२ र दलित महिला सदस्यमा सीता भुलले ८सय ९६ मत पाएर विजयी भएका छन्।
अहिलेसम्म टीकापुर नगरपालिकाको वडा नं. ३ र ९ मा समेत मत गणना सम्पन्न भएको छ। वडा नं. ९ मा नेकपा माओवादी केन्द्रका लौटन चौधरी पुनः वडाध्यक्षमा दोहोरिएका छन्। उनी यसअघि समेत सोही पार्टीबाट वडाध्यक्ष थिए।
उनले ७सय १६ मत प्राप्त गरेका छन्। त्यस्तै सोही वडाको खुल्ला सदस्यमा भरत साउँदले ६सय ५० र किरण बहादुर चौधरीले ६सय २२ मत प्राप्त गरेर जितेका छन्। खुल्ला महिला सदस्यमा लाली डगौरा थारु र दलित महिला सदस्यमा दिलु कामी विजयी भएका छन्। थारुले ६सय ९१ र कामीले ६सय ८६ मत पाएका छन्।
यस्तै वडा नं. ३ को वडाध्यक्षमा काँग्रेसका ऋषी विश्वकर्मा विजयी भएका छन्। उनी ६सय ३३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
उनीसँगै दुई खुल्ला सदस्य समेत काँग्रेसले नै जितेको छ। विजयी हुने दुई खुल्ला सदस्य मध्ये जयराम थारुले ४सय ९४ र तेजराम चौधरीले ४सय ८७ मत पाएका छन्।
दलित महिला र खुल्ला महिला समस्यामा भने नेकपा माओवादी केन्द्रले जित हात पारेको छ। दलित महिला सदस्यमा विजयी हुने कमलादेवी विकले ५सय ३७ र खुल्ला महिला सदस्य लवरी चौधरीले ५सय ३४ मत प्राप्त गरेका छन्।
टीकापुर नगरपालिकाका थप पाँच वडामा मत गणना बाँकी छ। अहिले वडा नं. ८ को गणना भैरहेको छ। सबैभन्दा धेरै मतदाता रहेको वडा नं. १ मा ११ हजार ७९ मत खसेको छ। उक्त वडाको मतगणना भने सुरु भएको छैन।