पट्यारलाग्दो मतगणना, २४ घन्टामा ३ प्रतिशत मात्रै

पट्यारलाग्दो मतगणना, २४ घन्टामा ३ प्रतिशत मात्रै

काठमाडौं : काठमाडौंलगायत ६ महानगरको मतगणना निकै सुस्त छ। निर्वाचन आयोगका अनुसार २४ घन्टाको अवधिमा महानगरको २ देखि ३ प्रतिशत मात्रै मतगणना भएको छ। यही रफ्तारमा गणना भए महिनौं लाग्ने देखिएको छ। 

शुक्रबार ५ बजेसम्म मतदान भएको थियो। केही स्थानीय तहले त्यही दिन रातिबाट मतगणना सुरु गरे। महानगरमा भने शनिबार बिहानदेखि मात्रै मतगणना भएको थियो। आयोगका अनुसार शनिबार बिहानदेखि सुरु भएको काठमाडौंको मतगणना २४ घण्टामा दुई देखि ३ प्रतिशत मात्र सम्पन्न भएको छ। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल मतगणनामा प्रारम्भिक समयमा केही ढिलाइ भएको बताउँछन््। 
ढिलाइ भएका ठूला महानगरमा थप टोली खटाउने तयारी भइरहेको उनले बताए। गणक टोली थप गरेर पाँच दिनभित्र परिणाम सार्वजनिक गर्ने लक्ष्य आयोगले लिएको उनको दाबी छ। ‘काठमाडौं महानगरमा एउटा मतपत्र गणना गर्न थोरैमा दुई मिनेटदेखि बढीमा २० मिनेटसम्म पनि लाग्ने गरेको छ,’ अर्यालले भने। 

मतपत्रको सुरक्षाका लागि तारजाली राखिएपछि गणकले दलका प्रतिनिधिलाई जाली भित्रबाट मतपत्र देखाउनुपर्ने बाध्यता छ। यसले मतगणनामा धेरै ढिलाइ भएको गणकहरू बताउँछन्। एकैचरणमा शुक्रबार भएको स्थानीय तह निर्वाचनमा करिब ६४ प्रतिशत मतदान भएको थियो। ५२ प्रतिशत मत खसेको काठमाडौंमा कछुवाकै चालमा मत गणना भएको छ। काठमाडौं जस्तै भरतपुर, विराटनगर, पोखरा, वीरगन्ज र ललितपुर महानगरको मतगणनासमेत निकै ढिलो गतिमा छ। 

वीरगन्ज महानगरपालिकामा मौसम र स्थानका कारण सोचेजस्तो छिटो गणना गर्न नसकिएको सहायक प्रमुख निर्वाचन अधिकृत जयराम काफ्ले बताउँछन्। भने, ‘गर्मी मौसम छ। गणनामा बस्नका लागि पर्याप्त कर्मचारी भए पनि एउटा मत पत्र गन्न ५ मिनेट लाग्छ। त्यो राजनीतिक दललाई देखाउँदा र फाइनल गर्दा थप ५ मिनेट लाग्छ। यति सम्मकी मतपत्र खोल्दा पनि मात्रा मिलेन भने किन त्यसरी खोल्नुभयो ? भन्दै गाली पनि खानुपर्छ।’

केही स्थानमा राजनीतिक सहमति जुट्न कठिन हुने गरेका कारण मतगणनामा ढिलाइ भइरहेको छ। केहीमा भने मतपत्रमा लगाइएका मसी अस्पष्ट भएका कारण गणना गर्न कठिनाइ भएको छ। मतपत्र ठूलो भएका कारण पनि गणनामा ढिलाइ भएको निर्वाचन अधिकृतहरू बताउँछन्। धुलिखेल नगरपालिकाका निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले मतपत्र ठूलो हुँदा गणनामा ढिलाइ भएको बताए। ‘एउटा मतपत्र गन्न ४ मिनेटभन्दा बढी समय लागेको छ,’ उनले भने, ‘मतपत्र विचार पु¥याएर खोल्नुपर्छ। च्यातिने डर छ। खोलेपछि सबैलाई देखाउनुपर्छ। निर्वाचन चिह्न धेरै छन्् समय लागिहाल्छ।’

पोखरा महानगरपालिकामा पनि मतगणनामा ढिलाइ भइरहेको छ। दलका एजेन्ट र मतगणनामा बस्ने कर्मचारीका गुनासो उस्तै हुने गरेको प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए। ‘मतगणना ढिलाइ हुनुमा कर्मचारी अभाव मात्र कारण नभई दलका एजेन्टको ‘तनाव’ पनि कारण भएको उनले बताए। ‘एक सय मत गन्न पाएको छैन, आक्रोशित भइहाल्छन््,’ उनले भने, ‘यस्तो तालले कहिले सकिन्छ ?’ एउटा मतपत्रमा गणनामा १० मिनेटसम्म समय लागेको भट्टराईले बताए। ‘पटक–पटक भेरिफाई गर्न लगाउँछन््,’ उनले भने, ‘यस्तो भयो भने कर्मचारीमा पनि तनाव हुन्छ। दलबाट पनि समन्वय खोजिरहेका छौं।’ 

मतदाताले मत संकेत गर्दा राम्रोसँग मसी नलगाउँदा पनि गणनामा कठिनाइ भएको छ। मतपत्रको कलर नीलो र स्वस्तिक छाप अस्पष्ट हुँदा कुनमा संकेत गरेको हो भन्ने ठम्याउन कठिन भएको गणनामा बस्नेको गुनासो छ। ‘मत संकेत गर्दा स्वस्तिक छाप राम्रोसँग नलगाएको कारण मतगणनामा टाइम लागेको छ’,’ भट्टराईले भने। पहिलाको चुनावभन्दा यसपालि गणकको पारिश्रमिक पनि कम छ। त्यसैकारण मत गन्ने कर्मचारी पाउन मुस्किल छ। यसअघिका चुनावमा प्रतिसिफ्ट १ हजार पाउनेले यसपालि २ देखि ३ सय मात्रै पारिश्रमिक पाएका छन््। पहिला ८ घन्टाको सिफ्ट थियो। अहिले त्यो पनि छैन। पोखराका अधिकृत भट्टराईले भने, ‘निर्वाचन नियमावलीको व्यवस्थामा वैकल्पिक व्यवस्था गर्नुपर्छ। नत्र यही जनशक्तिमा गणक पनि पाउन गाह््रो छ।’

काठमाडौं महानगरपालिकाको विषयमा भने एउटा मतपत्रको मत गणना गर्न २० मिनेटसम्म लाग्ने भएकाले गणनामा ढिलाइ भएको मत गणनामा बसेकी प्रतीक्षा पराजुलीले बताइन्। ‘महानगरपालिकामा धेरै उम्मेदवार रहेका कारण गणना गर्न धेरै समय लागेकोे छ। 

काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार मात्र ५० जना छन््। अनि समय त लागिहाल्छ,’ उनले भनिन्, ‘राजनीति पार्टीहरूलाई एक÷एक गरेर देखाउनुपर्छ उहाँहरूको चित्त बुझाउनै गाह््रो हुने रहेछ।’ पूर्वनिर्वाचन आयुक्त भोजराज पोख्रेलले भने मतगणना गर्ने कर्मचारीमाथि दलहरूले गर्ने हदैसम्मको अविश्वास, मत पत्र ठूलो हुनु, दलहरूको तिखो नजर, कर्मचारीलाई सन्तोषजनक सेवा सुविधाको कमीका कारण मतगणना ढिलाइ भएको बताए। ‘कर्मचारीलाई सेवा सुविधा थप गरेरै भए पनि मतगणना स्थल र गणक थपेर गणना तीव्र पार्नुपर्छ,’ पोख्रेलले भने।

काठमाडौं महानगरपालिकामा कांग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना श्रेष्ठले गणकको संख्या बढाएर गणनामा छिटो गर्नुपर्ने बताइन्। ‘समय महत्वपूर्ण हो। बरु छिटो गरौं,’ उनले भनिन्, आयोगले गणकको संख्या बढाउन पहल गर्नुपर्छ।’

गुल्मीको रेसुंगा बन्यो नमुना 

गुल्मीको रेसुंगा नगरपालिकामा भने १६ हजार मत २२ घन्टामा गनेर सकिएको छ। छिटो गणना सकेर कर्मचारी तथा मतगणना प्रतिनिधिले देशभरमै उदाहरण पेस गरेका छन््। रेसुंगामा शुक्रबार राति साढे ११ बजेबाट गन्न सुरु गरेको १६ हजार मत शनिबार राति साढे ९ बजेसम्म गनिसकिएको छ।

रेसुंगा नगरपालिका गुल्मी जिल्लाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले २२ घन्टामै १६ हजार मत गनिसकेको बताए। २०७४ मा जनकपुरमा मुख्य निर्वाचन अधिकृत हुँदा पनि उनले देशभरभन्दा छिटो मतगणना सकेका थिए।

उनका अनुसार आयोगले प्रत्येक मतपेटिकाबाट मतपत्रहरू खसालेपछि त्यसलाई घोप्टो पारी ५०–५० वटाको मुठा पारेर एक÷एकवटा गन्नु भनेको छ। तर, रेसुंगामा दलहरूको सहमतिमा सबभन्दा पहिला एकछापेवाला मतपत्र छुट्टयाएर अलग–अलग चाङ लगाइयो। त्यसपछि रूख छाप एउटा चाङमा राखियो भने सूर्य छापलाई अर्को चाङ लगाइयो त्यसैगरी अन्य चिह्न भए त्यसैगरी राख्ने  काम भएको उप्रेतीले बताए। भने, ‘एकछापे मतपत्रहरू अलग–अलग चाङ लगाएपछि हामीले सबै दलका प्रतिनिधिहरूको आँखा अगाडि ती एकछापे मतपत्र नोट गनेजस्तै गन्यौं,’ उप्रेतीले भने, ‘७५ प्रतिशत मतपत्रको गणना आधा घन्टाभित्रै सकेका थियौं।’
बाँकी मिश्रित भोटवाला मतपत्र भने आयोगले भनेजस्तै घोप्टो पारेर ५०–५० वटाको मुठा बनाइएको थियो। बाँकी रहेका सबै प्रतिनिधिलाई देखाउँदै एक÷एक गनियो। गणनामा सबभन्दा बढी समय यस्तै मिश्रित मतपत्र गन्न लाग्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.