दैलेखको डुङ्गेश्वर गाउँपालिकामा एमाले विजयी
दैलेख : नेपाली कांग्रेसको गढ मानिएको दैलेखको डुङ्गेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको डुङ्गेश्वरमा अहिले एमाले विजयी भएको हो।
एमालेबाट अध्यक्षको उम्मेदवार सुन्दरकुमार केसीले निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई पराजित गरे। एमालेका केसी ३४०६ मत सहित गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। केसीले नेपाली कांग्रेसका मल्ललाई ७० मतान्तरले पराजित गरे। गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत रहेका कांग्रेसका मल्लले ३३३६ मत पाए।
यस्तै उपाध्यक्षमा कलावती न्यौपाने ३५७७ मत सहित निर्वाचित भएकी छन्। न्यौपानेले कांग्रेसकी एलिजा कुमारी थापालाई ४२५ मतान्तरले पराजित गरिन्। कांग्रेसकी थापाले ३१५२ मत प्राप्त गरिन्।
यो गाउँपालिकाको ६ वटा वडाहरु मध्ये ४ वटा एमाले तथा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले १-१ वटा जितको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं. १ मा नेकपा माओवादी केन्द्रबाट श्यामबहादुर राना, वडा नं. २ मा नेपाली कांग्रेसबाट यामबहादुर विस्ट, वडा नं ३ मा एमालेबाट कृष्ण बहादुर खत्री, ४ मा नगेन्द्रबहादुर बुढा, ५ मा एमालेबाट पर्वलाल शर्मा र ६ मा एमालेबाटै मान वहादुर थापा मगर वडाध्यक्षमा निर्वाचित भएका छन्।