सम्भव छ भगवत्ता बोध
एवं च ते निश्चयमेतु बुद्धिर्दृष्ट्वा विचित्रं जगतः प्रचारम्।
संसारका दुःख कष्ट बन्धुबान्धव, पुत्र, परिवार हुन् अर्थात् मेरो दुःखका कारण अरू नै छन् भन्ठान्छ मानिस। यही बुद्धिले जीवनको अन्तिम क्षणमा मात्र थाहा पाउँछ कि मेरो दुःखको कारण त अज्ञानता पो रहेछ। जसलाई जीवनमै बुद्धत्त्व, भगवत्व र संतत्वको ज्ञान हुँदैन, बाँकी जानकारी सबै अज्ञान हुन्।
बुद्धको मूर्ति या तस्बिर देख्दा पनि अनायासै आँखा बन्द हुन्छ। मन शान्त हुन्छ र भित्रको प्रकाशमा बन्द आँखाले दर्शन गर्ने भाव जाग्छ। सिद्धार्थ गौतम राजकुमारले बुद्धत्त्वको बोध प्राप्त गरेपछि परिचित बुद्ध त्यो प्रकाश हो। त्यो सम्बोधिको क्षण हो, त्यो निर्वाणको अनुभूति हो। जहाँ कुनै भगवान्को दर्शन होइन, एउटा दिव्यताको झलक मिल्छ।
सम्पूर्ण अस्तित्व, सम्पूर्ण जगत्, विराट आकाश दिव्यतामा झल्किन्छ। जसको कोही विशेष निर्माता छैन तर सबैको भित्र अनुभूतिको गहनता छ। पूरा अस्तित्व प्रकाशले ओतप्रोत छ, चेतनाले ओतप्रोत छ। त्यसैले कुनै भगवान् मात्र होइन, भगवत्ताको भावले पूर्ण छ। भगवत्ता अर्थात् धार्मिकताभन्दा माथि, पूर्णानन्द र एक सत्य। भगवान् एक कल्पना हो भने, भगवत्ता अनुभव हो। भगवान् प्रतिमामा पनि महसुस गर्न सकिन्छ भने, भगवत्ता एक सत्यता हो। अनि एक काव्यजस्तो जो हृदयबाट झंकृत हुन्छ अनि शब्दातीत जसलाई केवल अनुभूतिमा महसुस गर्न सकिन्छ।
एक जीवन्तता, गतिमान, प्रवाहमान, विराटताको परिचय जसलाई संसारका विशेषण र अनुमानले पूर्णता दिन सक्दैनन्। आफूभित्रको भागवत तत्त्व कसरी जागृत छ, कति प्रेमल छ र कति रहस्यात्मक छ कुनै किताब र शास्त्रबाट अनुभव हुँदैन। अन्तर गहिराइको साधना, मौन, स्मरण र सुरतीबाट तरंगित झन्कारले निराकारमा स्थित विश्रामपूर्ण स्थितिको बोधगम्य अवस्था भगवत्ता, बुद्धत्व या रहस्यमय खजानाको अनुभूतिबाट
मात्र बुद्धको अनुभूति हुन्छ। बुद्ध व्याख्यामा होइन, मौनतामा महसुस गर्न सक्नुपर्छ। कसरी अनुभूति गर्न पाएका छौं बुद्धको मननीय छ।
बुद्ध एक स्वतन्त्रता
विभिन्न धर्म र परम्पराले आफ्नै अनुशासन, विधि र कर्म काण्डमा बाँधेका हुन्छन्। आफ्ना अनुयायीद्वारा त्यसलाई फैलाउने प्रयास गरेका हुन्छन्। सांसारिक अनुशासन पालनाका लागि यो पनि जरुरी छ नैतिकता, जीवनशैली र व्यवस्थित दैनिकीका लागि। तर, बुद्ध सबै जञ्जिरबाट मुक्त भएर परम स्वतन्त्रतामा, विराट आकाशमा पंख फैलाउने सन्देश दिन्छन्। बुद्ध बताउँछन्– कुनै अनुयायीको रूपमा बाँधियौं भने तिम्रो आत्मज्ञानको पहिचानसम्म पुग्न सक्दैनौं त्यसैले स्वतन्त्र विराट आकाशमा फैलिऊ र आफ्नो चेतनाको स्तरलाई अनन्तसम्म फैलिन देऊ।
बुद्धले जोड दिँदै भन्नुभो– धर्म फैलाउनुभन्दा जरुरी छ तिम्रो हृदयको फैलावट, तिम्रो करुणाको फैलावट अनि तिम्रो मानवताको फैलावट। याद गरौं त मानिसका यी गुणवत्ता आज फैलिएका छन् या खुम्चिएका ? काम, क्रोध, लोभ, मोह, ईष्या, द्वेष सबै मानवता खुम्चिनुको परिणाम न हुन्। सहजता, स्वतन्त्रता, प्रेम र इमान्दारिताको अस्त्र र शास्त्र मात्र जीवन रूपान्तरणको माध्यम बन्न सक्छ। बुद्धले प्रत्येक व्यक्तिलाई आफ्नो गरिमा र आत्म पहिचानको लागि जति ध्यान, साधना र सूत्र बताए। त्यो कति प्रयोगमा ल्याएका छन् ? त्यसकै आधारमा त आज व्यक्ति मात्र विश्व नै अराजकताको भुँमरीमा रुमलिएको छ। आज व्यक्तिव्यक्ति र राज्यराज्यबीचमा जति प्रतिस्पर्धा र कटाक्ष छ तिनले सिक्नु जरुरी छ।
बुद्धको शैली जसले केवल सहयात्री र मैत्रेय बनेर आफ्नो परिचय दिएको थियो। उनले शरीर छोड्नुपूर्व आफ्ना सन्न्यासीलाई बताएका थिए– ‘म फेरि फर्केर आएँ भने तिम्रो मैत्रेय अर्थात् मित्र बनेर आउनेछु।’ ऐचजी
वेल्सले बुद्धबारे लेखेका थिए– ‘सायद बुद्धजस्तो नास्तिक कोही थिएन तर धेरै नै ईश्वर स्वरूप अनुभूति गर्न सकिन्थ्यो।’
बाहिर होइन भित्र जाऊ
धार्मिक, आध्यात्मिक, परम्परा जुनसुकै आयामबाट बुद्धलाई बुझ्न कोसिस गरौं। उनी क्रान्तिकारी थिए। जसले आफ्नो धर्ममा भगवान् होइन मनुष्यलाई राखे। मानिसले अन्तरमनको भगवत्तालाई नजानेसम्म कतै जानै सक्दैन र त्यो भगवत्ता प्रत्येक मनुष्यको भित्र छ। त्यसैले बाहिर होइन भित्र जाऊ। केही क्षणको लागि भए पनि भित्र जाऊ।
आश्चर्य लाग्न सक्छ संसारको कर्म, व्यस्ततालाई छोडेर कतिबेला भित्र जाने होला ? सजिलो र जीवन्त सूत्र दिनुभएको छ उहाँले लामो गहिरो श्वास लिऊ, एक सेकेन्ड आँखा बन्द गर र आफ्नो भाव दशालाई हेर। जतिबेला फुर्सद मिल्छ आफ्नो श्वासलाई लामो गहिरो बनाऊ र एक सेकेन्डलाई आँखा बन्द गर। अभ्यास जारी राख, गर्नुपर्ने विभिन्न महत्त्वपूर्ण काममध्ये यसलाई पनि याद गर। अभ्यास गरौं, हेरौं र मनन गरौं के रूपान्तरण आउँदो रहेछ। केही दिनको निरन्तर अभ्यासद्वारा यसलाई आफ्नो आदत बनाऊ। यो सर्वोत्तम आदत बन्नेछ जीवनको सत्यता बोधको निम्ति।
बाहिर कोलाहल, प्रतिस्पर्धा, स्वार्थ, अराजकता भेट्न सक्छौं। त्यो गहिराइमा जाऊ जहाँ केवल शान्ति, मौनता, आनन्द, प्रेम र खालीपन भेट्नेछौ। सबै विकारबाट खाली बन, शून्य बन। यो तिम्रोभित्रको यात्रा हो। बाहिरै दौडेर पनि भित्रको यात्रा गर्न बाधा छैन, सूत्र जान–लामो गहिरो श्वास, एक सेकेन्डलाई आँखा बन्द। अनि हेर भित्र बन्द आँखाले। तिम्रो केन्द्रमा रहेको आन्तरिक विराटता तिम्रो वास्तविक परिचय हो।
बुद्ध बन
बुद्धबाट प्रेरित ओशो भन्छन्– बुद्धलाई पढ्नु छैन, अनुसरण गर्नु छैन, सम्झ र आफैं बुद्ध बन। किनकि, बुद्धमा जुन ज्ञान फक्रियो त्यो सबै मनुष्यमा सम्भव छ। आफ्नो प्रज्ञारूपी ज्ञानलाई आत्मसात् गर त्यो नै बुद्धत्व हो। बुद्धको र तिम्रो समय २६ सय वर्ष फरक छ होला तर बुद्धले तिम्रो लागि नै सूत्र र विधि दिए। जो आज पनि उत्तिकै सान्दर्भिक र व्यावहारिक छन्।
बुद्धको अन्तिम वचन–अप्प दीपो भवः आजका मानिसलाई पनि त्यत्ति नै जरुरी छ। आफ्नो प्रकाश आफैं बन। कहिलेसम्म परनिर्भर र अरूको प्रकाशले आफ्नो गहिराइलाई हेर्ने कोसिस गर्छौं ? आफ्नो प्रकाश आफैं बन्ने क्षमतालाई व्यावहारिकता देऊ। त्यो प्रकाश र दिव्यताको महसुस गर जसले तिम्रो उज्यालो खोस्न सक्दैन र कसैले तिमीलाई अन्धकारमा राख्न सक्दैन। अन्धकाररूपी ज्ञान, लोभ र द्वैषप्रतिको इशारा बुद्धमार्फत व्याख्या गर्छन् ओशो। तिम्रो करुणा, प्रेम, सहजता र सरलताजस्ता गुण नै ध्यानमा प्रवेश गर्ने माध्यम हुन्।
कठोर मन, कठिनता, प्रतिस्पर्धा यी सबको चक्करले तिम्रो बुद्धत्त्वको खिलावटलाई बाधा पारेको छ। अन्तर हृदयमा बुद्धत्त्वको फूल फक्रिन देऊ। त्यही फूलमार्फत बुद्धले हिमाञ्छित पर्वत महसुस गरे जस्तै तिमी पनि चेतनाको शिखर चुम्न सक्छौ।