दक्षिणकाली नगरपालिकाको प्रमुख-उपप्रमुखमा कांग्रेस विजयी
काठमाडौं : दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन् । बस्नेत वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए ।
उनले सात हजार २०१ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाएका छन् । नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भएका हुन् । उनी पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका थिए । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाएकी छन्।
नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।