दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
दैलेख : दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लछुमन गुरुङ विजयी भएका छन् ।
उनले २९७१ मत गरेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुरुङले नेकपा एमालेका हरिप्रसाद उपाध्याय र नेकपा एकीकृत समाजवादी पार्टीका जंगबहादुर शाहीलाई पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका उपाध्यायले २५१९ मत पाए । एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार जंगबहादुर शाहीले २२६८ मत पाए ।
शाही निवर्तमान अध्यक्ष समेत हुन् । उनी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका थिए ।
पछि नेकपा एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा लागेका थिए ।
गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै मञ्जु कुमारी शर्मा विजयी भएकी छन् ।
उनले एमालेकी दुर्गाकुमारी सिंह र एकीकृत समाजवादीकी पुण्यप्रभा दशौँदीलाई पराजित गरिन् । उपाध्यक्षमा निर्वाचित कांग्रेसकी शर्माले ३१५५ मत पाइन् ।
एमालेकी सिंहले २३०१ र एकीकृत समाजवादीकी दशौँदीले २१३३ मत पाइन् । दशौंदी नेपाली कांग्रेसको नेता हुन् । कांग्रेसले उपाध्यक्षको टिकट नदिएपछि उनी एकीकृत समाजवादी प्रवेश गरेर उपाध्यक्षमा उम्मेदवारी दिएकी थिइन् ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित लछुमन गुरुङ्ग र उपाध्यक्षमा निर्वाचित मञ्जुकुमारी शर्मा ।