उपाध्यक्षमा पराजय, वडाध्यक्षमा विजय
प्यूठान : ०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा पराजय भएकी माओवादी केन्द्रकी लक्ष्मी पल्ली वडाध्यक्षमा विजयी भएकी छिन्। शनिबार सम्पन्न मतगणना अनुसार सरुमारानी गाउँपालिका-५ को वडाध्यक्षमा पल्ली विजयी भएकी हुन्।
उनले ७ सय ३२ र प्रतिस्पर्धी नेकपा एमालेका उमबहादुर खाम्चाले ४ सय ५४ मत लिएका छन्। उनीहरुबीच २ सय ७८ को मतान्तर भएको छ। सरुमारानीका ६ वटा वडा मध्ये ६ र ५ को मात्र नतिजा आएको छ।
यस्तै झिमरुक गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेका धुर्वराज खनाल पूनः वडा अध्यक्षमा विजयी भएका छन्। खनालसहित अन्य सदस्यमा पनि एमालेका सवै सदस्य विजयी भएका छन्।
आइतबार विहानै सम्पन्न मतपरिणाम अनुसार खनाल गठवन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका रामबहादुर जिसीलाई ३ सय ९० मतले पछिपार्दै विजयी भएका हुन्। खनालले १ हजार ९ र जिसीले ६ सय १९ मत लिएका छन्। वडा सदस्यमा गिता सुनार, प्रतिमान पुन, यमुना घर्तीमगर र शंकर पोखरेल विजयी भएका छन्।
यस वडामा यसअघि पनि एमालेको प्यानलै विजयी भएको थियो। झिमरुकमा हालसम्म १ वडाको मात्र अन्तिम नतिजा आएको छ। झिमरुक १ एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाको गृह वडा भएकाले पनि यसलाई धेरैले उनको प्रतिष्ठासित समेत जोडेर हेरेका थिए।