सिन्धुलीमा माओवादी केन्द्र १६, कांग्रेस १० र एमाले ५ वडामा विजयी
सिन्धुली : स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम धमाधम आइरहेको छ । सिन्धुलीका ७९ वडामध्ये ३१ वडामा मतगणना सकिएको छ । हालसम्मको परिणामअनुसार नेकपा माओवादी केन्द्रले १६ वडामा जित हात पारेको छ ।
नेपाली कांग्रेसले १० र नेकपा एमालेले ५ वटा वडामा जितेका छन् ।
माओवादी केन्द्रले मरिण गाउँपालिका १, २, ३, ५ र ६ नम्बर वडा, गोलन्जोर १, फिक्कल १, घ्याङलेख १, र ५ तथा दुधौली नगरपालिकाको १२, १३ र १४ नं वडामा जित निकालेको छ । यस्तै कमलामाई नगरपालिका २ र हरिहरपुरगढी गाउँपालिका ३ र ६ मा पनि माओवादी केन्द्र विजयी भएको छ ।
मरिण र गोलन्जोर बाहेकका वडाहरुमा माओवादी केन्द्रले गएको स्थानीय निर्वाचनमा हार व्यहोरेको थियो।
त्यस्तै, कांग्रेसले कमलामाई नगरपालिका १, तीनपाटन गाउँपालिकाको वडा नं २, १० र ११, हरिहरपुरगढी २, र गोलन्जोर २ मा जित हात पारेको छ ।
यस्तै, सुनकोशी गाउँपालिका १, दुधौली नगरपालिका १ र ३ मा पनि कांग्रेसले जित हात पारेको छ ।
नेकपा एमालेले हालसम्म हरिहरपुरगढीको १, तीनपाटन १ र कमलामाइ नगरपालिकाको ३, मरिण गाउँपालिका ४ र दुधौली नगरपालिका २ मा विजयी भएको छ ।
दुई नगरपालिकासहित ९ वटा पालिका रहेको सिन्धुलीका सबै पालिकामा सत्तागठबन्धन अगाडि छ भने एमालेले पछ्याइरहेको छ ।