स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका गोविन्द र भगवती निर्वाचित
स्याङ्जा : भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्दकुमार कर्मचार्य र भगवती रेग्मी निर्वाचित भएका छन्।
प्रमुख कर्माचार्यले प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्याललाई ८ सय ३५ र उपप्रमुख रेग्मीले सरस्वती अधिकारीलाई २ हजार २८१ मत पछि पार्दै विजयी भएका हुन्।
कर्मचार्यले ६ हजार ५०४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६६९ मत पाएका छन्।
उपप्रमुखमा रेग्मीले ७ हजार १७९ मत पाउँदा उनका प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ८९८ मत प्राप्त गरिन्।
नौ वडा रहेको नगरपालिकाको वडा नं ६ बाहेक सबै वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार विजयी भएका छन्। वडा नं. ६ को अध्यक्ष पदमा मात्रै नेकपा एमाले निर्वाचित भएको छ।
भीरकोटका ४७ सदस्यीयमध्ये ४६ सदस्य नेपाली कांग्रेस विजयी भएको नेपाली कांग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) ले जानकारी दिए।
२० हजार ४२७ जना मतदाता रहेकोमा यहाँ १३ हजार १३ जनाले मतदान गरेका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि भीरकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका छायाराम खनाल र सीमा केसी कर्माचार्य विजयी भएका थिए।
निर्वाचनको घोषणा भएसँगै बहालवाला नगरप्रमुख खनालले टिका लगाइ विजयको शुभकामना दिएका थिए।