बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेसका उम्मेदवार विजयी
गुलरिया : बर्दियाको बारबर्दिया नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका छविलाल थारु र उपप्रमुखमा रत्ना कुमारी पाण्डे विजयी भएका छन्। नेकपा एमालेका पदमप्रसाद ढकाल र उपप्रमुख नारायणी चौधरीलाई पराजितगर्दै कांग्रेसबाट प्रमुख र उपप्रमुख विजयी भएका हुन्।
नगरप्रमुख पदमा थारुले १३ हजार ६ मत र पाण्डेले १२ हजार ४९१ मत प्राप्त गरेकी छिन्। निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ढकालले १० हजार ३५१ र चौधरीले १० हजार ८ सय ५५ मत प्राप्त गरेका हुन्। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जीतेको पालिकामा यस पटक नेपाली कांग्रेसले जित हात पारेको छ। अधिकांश वडाहरुमा नेपाली कांग्रेसका वडाध्यक्षहरु विजयी भएका छन्। नगरप्रमुख पदमा २ हजार ६ सय ५५ र उपप्रमुख पदमा १ हजार ६ सय ३६ मतान्तर रहेको छ।
एघार वटा वार्डहरु रहेको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा वडा, नेकपा एमालेले ३ वटा वडा र माओवादी केन्द्रले २ वटा वडामा विजय प्राप्त गरेको बारबर्दिया नगरपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद चापागाईले बताए।
बारबर्दिया नगरपालिकाको नेपाली काँग्रेसबाट वडा नम्वर १ मा कैलासपति थारु, २ मा रामफेरन थारु, ३ मा नन्दलाल थारु, ४ मा सिताराम योगी, ८ मा नरबहादुर चन्द र वडा नम्वर ९ मा देवेन्द्र कुमार विष्ट विजयी भएका छन्।
नेकपा एमालेबाट वडा नम्वर ५ मा लालबहादुर थारु चौधरी, ६ मा झग बहादुर वली क्षेत्री र वडा नम्वर १० मा रणबहादुर चौधरी विजयी भएका छन्।
माओवादीबाट वडा नम्वर ७ मा ईन्द्रप्रसाद थारु चौधरी र वडा नम्वर ११ मा विजय कुमार चौधरी विजयी भएका हुन्। गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको पालिकामा यसपटक नेपाली कांग्रेसले बाजी मारेको हो।