बेनीको मेयरमा एमाले र उपमेयरमा माओवादी विजयी
बेनी : म्याग्दीको बेनी नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन्।
मेयरमा एमालेका सुरत केसीले सात हजार ६०३ र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेलले सात हजार ७३ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए।
मेयरमा नेपाली कांग्रेसका चिरञ्जिवी शर्माले छ हजार २३० र उपमेयरमा एमालेकी पशुपति शाहीले पाँच हजार ५०० मत पाएका छन्।
बेनीको मेयर, उपमेयर र पाँच वटा वडामा कांग्रेस र माओवादीले तालमेल गरेर साझा उमेद्वार बनाएका थिए। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा २१ हजार ८४२ जना मतदाता रहेको बेनी नगरपालिकामा ६९.६४ प्रतिशत अथवा १५ हजार २११ मत खसेको थियो। १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
एमालेले पाँच, कांग्रेसले तीन र माओवादीले दुई वटा वडाको अध्यक्ष जितेका छन्। वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, २ मा कांग्रेसका यामबहादुर कार्की, ३ मा माओवादीका पदम पुन, ४ मा माओवादीका भगवान खड्का, ५ मा एमालेका गोविन्द बानिया, ६ मा एमालेका कृष्णसिंह बानिया, ७ मा कांग्रेसका रमेश श्रेष्ठ, ८ मा एमालेका उत्तमकुमार कर्माचार्य, ९ मा कांग्रेसका चक्र केसी र १० मा एमालेका मसविर रोका वडा अध्यक्षमा निर्वाचित भएका छन्।