खुसी पाठ्यक्रम
नियमित तालिकाभन्दा एक महिना ढिलो गरी विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ। विगत दुई वर्षमा सिकाइ क्षति व्यहोरेका विद्यार्थी नयाँ सत्रमा विद्यालय प्रवेश गर्दै गर्दा उनीहरूले सिक्न नसकेका कुरा मात्र होइन, महामारी र यसले निम्त्याएका अन्य असामान्य अवस्थाले सिर्जना गरेको उनीहरूको मनोसामाजिक अवस्थासमेत विचारणीय देखिन्छ। लकडाउन र महामारीको त्रासले विगत दुई वर्ष नियमित पठनपाठनले निरन्तरता नपाएकै कारण बालबालिकाको पठन संस्कृति र आनीबानीमा समेत परिवर्तन आएको छ। उनीहरूलाई लयमा फर्काउन र सिकाइ क्षतिलाई न्यूनीकरण गर्न विशेष कार्यक्रमहरू अगाडि सार्नुपर्ने वर्तमान अवस्था छ। तर, देशको आर्थिक अवस्थालाई देखाएर हप्तामा दुई दिन बिदा दिने घोषणा गरिएको छ। अकस्मात् आएको यस निर्णयले पनि बालबालिकाको मनोदशा तथा पठनपाठन तालिकामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ।
स्थानीय चुनावबाट सुरु भएको शैक्षिक सत्रको अन्तरालमा संसदीय चुनावसमेत हुने भएकाले र चुनावका समयमा विद्यालय र शिक्षकको प्रत्यक्ष संलग्नता हुने कारणले पनि विद्यार्थीको सिकाइ निरन्तरतामा केही असर पर्ने देखिन्छ। यस्तो अवस्थामा परम्परागत रूपमा पाठ्यपुस्तक पढाउने प्रवृत्तिलाई परिमार्जन गरी बालबालिकाको सिकाइ सीप विकास गर्ने तथा २१औं शताब्दीका आधारभूत सीपमा जोड दिनुपर्छ। बालबालिकाको सर्वांगीण र चौतर्फी विकासका लागि खुसी सिकाइ वा खुसी हुने कलाको सिकाइ पनि विद्यालयमै गराउने कुरामा जोड दिनुपर्ने अवस्था छ। हप्तामा दुई दिन बिदा दिने घोषणाले विद्यार्थीको कक्षामा उपस्थित हुने दिन स्वतः कम हुनेछ। यद्यपि बर्खे र हिउँदे बिदा कटाएर कम हुन गएको पाठ्यघण्टा पूर्ति गर्ने उपाय शिक्षा मन्त्रालयले सुझाएको छ। तर, यो काम काठमाडौंमा बसेर कागजमा गरिएको योजना जस्तो सहज भने छैन।
उच्च पहाडी क्षेत्रमा हिमपातका कारण नचाहेरै पनि लामो समय विद्यालय बन्द गर्नुपर्ने अवस्था रहन्छ। तराई क्षेत्रमा गर्मीका कारण बर्खे बिदा अपरिहार्य नै देखिन्छ। विद्यालय खोल्ने समय र वर्षभरिको पठनपाठनको अवधिलाई घण्टा र मिनेटमा हिसाब गर्दा खासै ठूलो अन्तर देखिएन। तर पनि पठनपाठनको क्रियाकलाप घडी हेरेर वा घण्टामा गरिने अन्य काम जस्तो प्राविधिक र कृत्रिम प्रकृतिको हुँदैन। बालबालिकाको वृद्धि र विकास तथा उनीहरूको परिवेश र समय सन्दर्भले सिकाइमा प्रत्यक्ष प्रभाव पार्छ नै। त्यसैले छोटो समयमा धेरै सूचनाभन्दा लामो समयका व्यावहारिक अनुभव सिकाइका दृष्टिले महत्त्वपूर्ण ठहरिन्छन्। प्राकृतिक र मानवनिर्मित परिवर्तनले सिर्जना गरेका यी अव्यावहारिक र असामयिक घटनाका कारण सिर्जना हुने तनाव व्यवस्थापनका लागि अबका दिनमा कक्षाकोठा व्यवस्थापनमा विशेष ध्यान दिनैपर्छ।
पाठ्यपुस्तकमा दिइएका तथ्यहरूलाई कण्ठस्थ गरी परीक्षामा जस्ताको तस्तै लेख्ने परम्परगत परीक्षा प्रणलीमा परिवर्तन ल्याउनै पर्ने चुनौती नेपाली शिक्षा क्षेत्रमा छ। धेरै सूचना कण्ठस्थ गर्ने र तिनै सूचनालाई परीक्षामा प्रस्तुत गर्ने व्यक्ति नै उत्कृष्ट बन्ने मनोवृत्तिले जरा गाडेको छ। यो वर्तमान अवस्थामा विद्यालयमा सीप सिकाउनेभन्दा परीक्षामुखी भई अर्थहीन सूचना घोकाउने कुरालाई जोड दिइने गरेको छ। विषयवस्तुगत सीपका साथै २१औं शताब्दीका लागि तय गरिएका जीवनोपयोगी र आधारभूत साक्षरता सीप सिकाउन शिक्षकहरूलाई समुचित तालिमको आवश्यकता छ। आफूले पढ्ने बेलामा जुन बिधि र पद्धतिबाट पढे, त्यस्तै किसिमले विद्यार्थीलाई पढाउने मानसिकता बोकेका शिक्षकबाट २१औं शताब्दीका सीप सिकाइ गर्ने अपेक्षा राख्नु सान्दर्भिक हुँदैन। यसो भन्नुको तात्पर्य पुरानो पद्धतिमा पढेका शिक्षकले भविष्यका लागि उपयुक्त हुने किसिमको शिक्षा दिन सक्दैनन् भन्ने होइन। तर उनीहरूलाई वर्तमान समयमा विकसित भएका विधि र प्रविधिसँग अभ्यस्त गराउनै पर्छ। नयाँ नयाँ शिक्षण सिकाइ क्रियाकलापसँग परिचित नगराउने हो भने विद्यार्थीले उपयुक्त किसिमको सिकाइ अवसर प्राप्त गर्न पाउने छैनन्।
विभिन्न अध्ययनले महामारीका कारण हरेक बालबालिकाले कम्तीमा दुई वर्षको सिकाइ क्षति बेहोरेको देखाएका छन्। यस्तो अवस्थामा बालिकाको उमेर अनुकूल सिकाइमा के कस्ता कठिनाइ सिर्जना भए ? उनीहरूलाई माथिल्लो तहको उपलब्धि हासिल गर्न आधारभूत रूपमा सिक्नैपर्ने कुराहरू के के हुन् ? यी विषयमा जोड दिएर सिकाइ गर्न नसक्ने हो भने दुई वर्षको सिकाइ क्षतिको असर दशकौंसम्म रहने देखिन्छ। यसैले हरेक विद्यालयले यस सत्रमा बालबालिकाको तह अनुकूलको सिकाइ उपलब्धि छ वा छैन भन्ने कुराको मापन गर्नुपर्छ। साथै उनीहरूको आवश्यकता, रुचि र क्षमता अनुकूलका शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकाइ क्षति न्यूनीकरणमा सहजीकरण गर्नुपर्छ। एकोहोरो माथिल्लो कक्षाका पाठ्यवस्तु पढाउने र उनीहरूलाई सूचनाहरू घोक्न लगाउनु हँुदैन। त्यसो भने बालबालिकाको पढाइप्रतिको रुचि मर्ने मात्र नभई शिक्षण सिकाइ क्रियाकलाप अर्थहीन बन्न जान्छ।
धेरैजसो विद्यालय धेरै किताब राखेर गह्रुँगो झोला बोकाउने कामलाई आफ्नो विद्यालयको गुणस्तर मान्ने गर्छन्। पाठ्यक्रम विकास केन्द्र अहिले यस्तै हौवाको पछाडि लागेको छ। जसले गर्दा कक्षाकोठामा पठनपाठन गराउन सम्भव नहुने र बालबालिकाको स्तर नसुहाउने विषयवस्तु थोपरिएका पाठ्यक्रम र पाठ्यपुस्तक विकास गर्ने काममा छ। बालबालिकालाई कुन विषय आवश्यक हो भन्ने कुरालाई भन्दा त्यहाँका कर्मचारी र स्वकथित विज्ञका रुचिअनुसारका विषयहरू तय गरिने गरेको छ। आधारभूत तहमा भाषा, विज्ञान र गणित विषयका आधारभूत सीपहरू सिकाउँदै व्यवहारोपयोगी सीपका रूपमा नैतिक र सामाजिक शिक्षालाई समावेश गराउनु उपयुक्त देखिन्छ। यसैले आधारभूत तहमा छुट्टै विषयका रूपमा सामाजिक अध्ययनलाई राख्नुभन्दा भाषा विषयसँग सम्बद्ध गरी पाठ्य विषयको संख्या घटाउनु पर्छ।
स्थानीय पाठ्यक्रमअनुसार पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउने व्यवस्था गर्दा धेरै स्थानीय तहलाई के पढाउने र कस्तो किताब बनाउने भन्ने विषयले अन्योलमा पारेको देखियो। यसले गर्दा धेरै स्थानीय तहले सामाजिक विषयसँग मिल्दोजुल्दो सामग्री संकलन गरी पाठ्यपुस्तक तयार गरेको पाइयो। केहीले भने स्थानीय तहका पदाधिकारी, उनीहरूको पारिवारिक पृष्ठभूमि र पालिकामा भएका सामान्य कुरालाई समेटेर पाठ्यपुस्तक निर्माण गरेको देखियो। पाठ्यक्रम निर्माणका क्रममा छुटेका तर त्यस क्षेत्रका बालबालिकाका लागि ज्ञान निर्माणमा महत्त्वपूर्ण साधन बन्न सक्ने पक्षहरूलाई समेट्ने उद्देश्य राखियो। यसरी स्थानीय
पाठ्यक्रम राखिए पनि सोअनुकूल पाठयपुस्तकको निर्माण हुन नसकेका कारण स्थानीय पाठ्यक्रम उपलब्धिमूलक बन्न सकेको छैन। यस अवस्थामा स्थानीय पाठ्यक्रमका सट्टामा खुसी पाठ्यक्रम लागू गर्न सक्नुपर्छ। यसो भयो भने बालबालिकाको सर्वांगीण विकासमा सकारात्मक प्रभाव पर्नेछ।
युनिसेफले विकास गरेका खुसी पाठ्यक्रमका आधारभूत ढाँचालाई आत्मसात् गरी स्थानीयस्तरमा सहजै पाठ्यपुस्तक निर्माण गर्न सकिने अवस्था छ। पाठ्यक्रम र पाठ्यसामग्री निर्माणका क्रममा छिमेकी मुलुक भारतको दिल्ली सरकारले लागू गरेको खुसी पाठ्यक्रमबाट पनि धेरै सहयोग लिन सकिन्छ। बालबालिकाले भावना, आवेग र संवेगहरूलाई पहिचान गरी तिनको समुचित व्यवस्थापन गर्न सिकेको खण्डमा सकारात्मक सोच, चिन्तन र व्यवहारको विकास हुन्छ। यसले बालबालिकामा वैयक्तिक सन्तुलन मात्र नभएर समूह कार्य, परियोजना कार्य, सामाजिक सहिष्णुता, सद्भाव र सहयोगी भावनाको विकास गर्छ। एकलकाँटे, आक्रामक र असहिष्णु जनशक्ति उत्पादनले सामाजिक शान्ति र सन्तुलित वातावरण निर्माण हुन सक्दैन। सन्तुलित व्यक्तित्व निर्माणका लागि विद्यालयमा खुसी हुने कलाको सिकाइ निकै आवश्यक छ। विपत्को क्षणबाट भर्खर तंग्रिन थालेको वर्तमान अवस्थामा खुसी पाठ्यक्रम निकै सान्दर्भिक पनि ठहर्नेछ।
यसरी यसले एकातिर बालबालिकालाई सन्तुलित र मर्यादित बनाउन सहयोग पुर्याउनेछ। साथै सिकाइप्रति रुचि जगाउँदै समग्र सिकाइ उपलब्धि बढाउनसमेत सहयोग गर्नेछ। असामान्य अवस्थामा अनेकौं असंगतिबीच सुरु हुन थालेको नयाँ शैक्षिक सत्रलाई उपलब्धिमूलक बनाउन शिक्षा मन्त्रालय, गाउँ÷नगरपालिका, विद्यालय, शिक्षक, अभिभावक सबैले बिनापूर्वाग्रह सक्रिय योगदान गर्नुपर्छ। सबै पक्षबाट सकारात्मक वातावरण सिर्जना गर्न सके बालबालिकाको चौतर्फी विकासमा सहयोग पुग्नेछ।