भत्कियो मसालको गढ, मोहनविक्रमको वडामा एमाले विजयी
झिमरुक (प्यूठान) : नेकपा मसालको ‘गढ’ भनेर चिनिने झिमरुक गाउँपालिका वडा नम्वर ५ मा नेकपा एमाले विजयी भएको छ।
यो वडा मसालका महामन्त्री मोहनविक्रम सिंहकोसमेत वडा हो। एमालेका दधिराम पोखरेलले राष्ट्रिय जनमोर्चाका देबेन्द्र जिसीलाई ८१ मतले पछि पार्दै विजयी भएका हुन्। पोखरेलले ६३९ र जिसीले ५५८ मत पाएका छन्। चार जना वडा सदस्यमा भने राजमोले जितेको छ।
साविक ओखरकोट गाविस मिलाएर यो वडा बनेको हो। ०४९ सालदेखि ०७४ सम्म यहाँ निरन्तर नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले एकलौटी सत्ता संचालन गर्दै आइरहेको थियो। ०४९ मा तत्कालिन ओखरकोट गाविसमा विर बहादुर जिसी र ५४ मा रण बहादुर खड्काले अध्यक्ष जितेका थिए।
राज्य पुनःसंरचनासँगै ०७४ सालको स्थानीय तह निर्वाचनमा झिमरुक यस वडामा टिकाबहादुर जिसीले जितेका थिए। जिसी अहिले झिमरुक गाउँपालिका अध्यक्षमा चुनाव लडेका छन्। मत गणना चलिरहेको छ। नेपाली कांग्रेस र राजमोले चुनावी गठवन्धन गरेको छ। कुनैबेला शानदार रुपमा एक्लै चुनाव लडेर जित्ने राजमो अहिले अन्य दलको सहारामा चुनावमा सहभागी भएको हो।
वडा नम्वर ५ लाई झिमरुक गाउँपालिकाको महत्वपूर्ण वडाको रुपमासमेत हेर्ने गरिएको छ। गाउँपालिकाको केन्द्रदेखि नजिकै पर्ने मच्छि बजारसमेत यसै वडामा पर्दछ।