षडानन्द नगरपालिकामा गठबन्धन ढाल्दै एमालेका उदास विजयी
भोजपुर : चुनावी गठबन्धन रहेको भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमाले भारी मतले विजयी भएको छ।
गठबन्धनबाट नगर प्रमुख पदमा नेपाली कांग्रेसका बीरबल राईलाई १ हजार १५ मतान्तरले हराउँदै नेकपा एमालेका सुरेन्द्र उदास निर्वाचित भएका हुन्। उदासले कुल ६ हजार ७७२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राईले कुल ५ हजार ७५७ मत प्राप्त गरे।
यस्तै नगरको उपप्रमुख पदमा भने गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी प्रमिला राई फराकिलो मतान्तरले विजयी भएकी छन्।
उनले पनि एमालेकी मेरिका राईलाई २ हजार ८९९ को विशाल मतान्तरले पछि पार्दै निर्वाचित भएकी छन्। प्रमिलाले कुल ७ हजार २५७ मत ल्याएकी छन् भने उनका प्रतिद्धन्दी मेरिकाले ४ हजार ३५८ मत ल्याएकी थिइन्।
भोजपुरको सबैभन्दा धेरै १४ वडा रहेको यस नगरपालिकाको वडा नं १, ५, ७, १०, १२ र १४ एमाले, वडा नं २, ४, ६, ८, ११ र १३ मा नेपाली कांग्रेस, वडा नं ३ माओवादी केन्द्र र वडा नं ९ मा नेकपा एसले जितेको छ।