नुवाकोटका सात स्थानीय तहको अन्तिम परिणाम, कहाँ को विजयी ?
नुवाकोट : स्थानीय तह सदस्यका लागि भएको निर्वाचन अन्तर्गत नुवाकोटमा १२ मध्ये सात स्थानीय तहको अन्तिम परिणाम आएको छ। विदुर र वेलकोटगढी नगरपालिकामा कांग्रेस माओवादी गठवन्धनका उम्मेदवारहरु अग्रस्थानमा रहेका छन्।
नुवाकोटका ८८ मध्ये ६९ वडाको अन्तिम परिणामसमेत आइसकेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ। विदुर र वेलकोटगढी नपाका साथै पन्चकन्या, दुप्चेश्वर र शिवपुरी गापामा मतगणना जारी रहेको छ।
तारकेश्वर, म्यागङ, सुर्यगढी, तादी, लिखु, ककनी र किस्पाङ गापाको अन्तिम मतपरिणाम आइसकेको छ। यसमध्ये पांच गापामा कांग्रेस तथा एक÷एक गापामा नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।
सत्तारुढ कांग्रेस र माओवादीले गठवन्धन गरेको वेलकोटगढी नपामा मंगलवार वेलुकीसम्म ११ हजार एकसय ११ मत गणना गर्दा गठवन्धनका माओवादीका उम्मेदवार जगतवहादुर गुरुङले पांचहजार सातसय ४७ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एमालेका राजेन्द्ररमण खनालले दुई हजार नौसय ४५ मत पाएका छन्।
उपमेयरतर्फ गठवन्धनका कांग्रेसका उम्मेदवार शिव दाहालले ४ हजार ४ सय ७१मत ल्याएर अग्रता लिएका छन् । एमालेकी रुपा सापकोटाले ३ हजार ४ सय ८६ मत ल्याएकी छन्।
नुवाकोटको सदरमुकाम रहेको विदुर नपामा मंगलवार वेलुकीसम्म कुल मत गणना ११ हजार ७ सय ५० हुँदा मेयरमा गठवन्धनका कांग्रेसका राजन श्रेष्ठले ६ हजार ५ सय ७ मत ल्याएर अग्रता कायमै गरेका छन् । एमालेका सन्जु पण्डितले ४ हजार ४ सय ३० मत ल्याएका छन्।
उपमेयरतर्फ गठवन्धनकी माओवादी केन्द्रकी प्रभा वोगटीले ४ हजार ८ सय ७ मत प्राप्त गरिन् । एमाले अम्विका पौडेलनेपालले ४ हजार ४ सय ७६ मत प्राप्त गरिन्।
अन्तिम परिणाम सार्वजनिक भएकोमध्ये तारकेश्वरको अध्यक्ष कांग्रेसका शिव अधिकारी अविरल र उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमाल विजयी भएका छन्। पांच वर्ष अगाडि नेकपा एमालेले जितेको सो गापामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए।
म्यागङ गापाको अध्यक्षमा कांग्रेसका आशावहादुर तामाङ पुनः विजयी भएका छन् । उनी पहिले पनि अध्यक्ष निर्वाचित भएका थिए भने उपाध्यक्षमा कांग्रेसकै सीता तामाङ विजयी भइन्।
लिखु गापामा कांग्रेसका ध्रुव श्रेष्ठ पुनः विजयी भएका छन्। श्रेष्ठ पहिले पनि अध्यक्ष निर्वाचित भएका थिए।
लिखुको उपाध्यक्षमा कांग्रेसकै शुभद्रा अधिकारी विजयी भइन्। अध्यक्ष, उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवारहरु निकटतम प्रतिद्वन्दी भएका छन्।
सत्ता गठबन्धन दलले गठबन्धनमा आबद्ध दलभन्दा बाहिर गएर चुनावमा तालमेल गर्न रोकेपनि नुवाकोटको किस्पाङ गापामा नेकपा एमाले र माओवादी मिलेर चुनाव जितेका छन्।
यसअघि विजयी सत्तारुढ दल कांग्रेसका उम्मेदवारहरुलाई एमाले माओवादी मिलेर हराएका छन्। कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामातामाङको गृह गाँउपालिकामा माओवादी र एमाले मिलेर कांग्रेससँग चुनाव लडेका थिए।
सो गाउंपालिकाको अध्यक्ष, उपाध्यक्ष दुवै पदमा कांग्रेस पराजित भएको छ । कांग्रेसको बलियो पकड रहेको किस्पाङमा एमालेले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष जितेको हो।
एमालेका वीरबल तामाङले अध्यक्ष र माओवादी केन्द्रका अर्जुनप्रसाद न्यौपानेले उपाध्यक्ष जितेका हुन् । पांच वर्ष अगाडिको निर्वाचनमा दुवै जना आआफ्नो दलवाट अध्यक्ष पदका उम्मेदवार भएका थिए।
विजयी तामाङले कांग्रेसका छत्रबहादुर लामालाई पराजित गरेका हुन् । तामाङले ३ हजार ६ सय ३८ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका लामाले ३ हजार ४ सय ५२ मत पाएका छन्।
त्यस्तै उपाध्यक्षमा विजयी माओवादी केन्द्रका अर्जुनप्रसाद न्यौपानेले ३ हजार ७ सय १२ मत ल्याएका हुन्। उनले कांग्रेसका दिलकुमारी तामाङलाई हराएका हुन्। दिलकुमारीले ३ हजार २ सय ६० मत पाइन्।
५ वटा वडा रहेको किस्पाङ गाउंपालिकामा एमालेले अध्यक्ष र २ वटा वडा तथा माओवादी केन्द्रले उपाध्यक्ष र तीन वटा वडा लिएर चुनावी तालमेल गरेका थिए। किस्पाङ १ मा कांग्रेसका पशुपति घले, वडा २ मा माओवादी केन्द्रका बद्रीप्रसाद देवकोटा, वडा ३ मा माओवादीका सुरेन्द्रबहादुर तामाङ, वडा ४ मा कांग्रेसका बिनोद तामाङ र वडा ५ मा कांग्रेसका प्रकाश तामाङले जितेका छन्।
नुवाकोटको दक्षिणी भेगमा रहेको तारकेश्वर गाँउपालिकामा नेपाली काँग्रेस र माओवादीको गठबन्धन विजयी भएको छ। अध्यक्षमा नेपाली काँग्रेसबाट शिव अधिकारी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिप्रसाद रिमाल विजयी भएका छन्।
तारकेश्वर १ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार चक्रबहादुर तामाङ सहित नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ। वडा नं. २ मा नेकपा एमालेबाट शिव पनेरुको प्यानलै विजयी छ।
वडा ३ मा नेपाली काँग्रेसबाट सुर्यमान श्रेष्ठको प्यानलनै विजयी भएको छ। वडा ४ मा नेकपा एमालेका हरि पौडेल, ५ मा नेपाली काँग्रेसबाट अशोक तामाङको प्यानलनै विजयी र वडा ६ मा नेकपा एमालेकै नारायणप्रसाद रिमालले जित हासिल गरेका छन्।
उता, नुवाकोटको सुर्यगढी गाउँपालिका नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार सन्तवहादुर घलेले अध्यक्ष र मञ्जु बुढाथोकीढकालले उपाध्यक्षमा पुनः विजय प्राप्त गरेका हुन्।
यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानिय निर्वाचनमा पनि उनीहरु दुबैजना अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए । काठमाडौंसँग सीमा जोडिएको नुवाकोटको ककनी गाँउपालिकामा फेरि माओवादीले जितेको छ।
माओवादीले अध्यक्ष, उपाध्यक्ष दुवै पदमा जितेको हो । माओवादीका सुमन तामाङले ४ हजार ९ सय ९ मत ल्याएर विजयी भएका हुन्।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकी मिठुमाया लामातामाङ विजयी भएकी छिन् । उनले ४ हजार १ सय ७४ मत पाएकी छन्।