डोटीको शिखर नगरपालिकामा पुन: कांग्रेस विजयी
डोटी : डोटीको शिखर नगरपालिकामा फेरि पनि नेपाली कांग्रेसले जीत हात पारेको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका दीर्घबहादुर बलायर र सुनिता रावल नेकपा एमालेसँगको ठुलो अन्तरमतले निर्वाचित भएका छन्। शिखरमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत नेपाली कांग्रेसले जीत हात पारेको थियो।
नगर प्रमुखमा बलायरले ७५६२ मत प्राप्त गरी जीत हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम बहादुर बलायरले ४५९१ मत ल्याएका छन्। नेकपा माओबादी केन्द्रसँगको तालमेलमा उठेका नेकपा एकिकृत समाजबादीका उम्मेदवार सागरप्रसाद भट्टले ३०२ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा पनि कांग्रेसकै सुनिता रावलले ६४२६ मत ल्याएर निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५ मत प्राप्त गरिन्। नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उपप्रमुखमा उठेका नेकपा माओबादी केन्द्रका रमेशप्रसाद जोशीले ३६६ मत प्राप्त गरिन्।
११ वटा वडा रहेको शिखर नगरपालिकामा ७ वटा वडामा नेपाली कांग्रेसले जित्दा ४ वटा वडामा नेकपा एमालेले जीत हात पारेको छ। नेकपा माअेबादी केन्द्र र नेकपा एकीकृत समाजबादी मिलेर चुनाब लडे पनि कुनै पनि पदमा जीत हात पार्न सकेनन्।
नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर १ मा दिपकबहादुर बोगटी, वडा नम्बर २ मा गणेशबहादुर बोगटी, वडा नम्बर ३ मा गणेशबहादुर जोरा, वडा नम्बर ६ मा धिर्कबहादुर सिंह, वडा नम्बर ८ मा लालबहादुर महरा, वडा नम्बर १० मा मिनबहादुर बलायर र वडा नम्बर ११ मा कर्णबहादुर बिष्ट विजयी भएका छन्।
त्यसैगरी नेकपा एमालेको तर्फबाट वडा नम्बर ४ मा टेकबहादुर मल्ल, वडा नम्बर ५ मा डमरु कार्की, वडा नम्बर ७ मा टेकराज भट्ट र वडा नम्बर ९ मा जगन्नाथ भट्ट विजयी भएका छन्।
योसँगै डोटीका नौ स्थानीय तहमा निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ। जसमा सात पालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जीत निकालेको छ।
डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, बडीकेदार गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, आदर्श गाउँपालिका र केआइसिंह गाउँपालिकामा नेपाली कांग्रेसले जीतेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जीतेको छ। बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकै उम्मेदवारले जीतेका छन्।