बालेनले बालेको राजनीति
बालेनले जितुन् वा हारुन्। तर, उनले जितिसके। देशैभरि, अझ संसारकै नेपालीबीच चर्चा छ त, बालेनकै छ। र, धेरैको मुखबाट निस्किएको सुनिन्छ, ‘धेरैजना हेरियो, काठमाडौंमा एक पटकलाई बालेनको बुद्धि हेर्न मन छ।’
मतदान भइसकेको छ। जनताका मनका छाप लागेका मतपत्र बाकसभित्र छन्। निर्वाचन आयोग तिनलाई लोसे पाराले खोतल्दै, पढ्दै गरिरहेको छ। जति पढिन्छ, आधा बालेनलाई, आधा अरूलाई गइरहेको छ। औसतमा। जति धेरै मतपत्र निस्किँदै छन्, उति अधिक भुइँमान्छेलाई नगन्ने ठूला भनाउँदा दलको मनमा ढ्यांग्रो बज्दै गएको छ। प्रजातन्त्र प्राप्तियताको सर्वाधिक मननयोग्य विषय केही बनेको छ भने, बालेनको लोकप्रियता छ।
यो चुनावअघिसम्म सबैभन्दा चर्चाको महानगर थियो– भरतपुर। चुनावपछि भरतपुरलाई ओझेलमा पारेर अघि लागेको छ– काठमाडौं। कारण हो– उनै बालेनको बलवान् उपस्थिति। राजनीतिमा उनको मन्द प्रवेश र बेगवान् गति।
बालेन अर्थात् बालेन्द्र साह। एक महिनाअघिसम्म यो नाम धेरैले सुनेकै थिएनन्। र्यापर हुन् तर औधी कहलिएका होइनन्। इन्जिनियर हुन् तर प्रख्याति पाइसकेका होइनन्। मदन भण्डारीजस्तो धाराप्रवाह बोलेर उधुम मच्चाएका पनि होइनन्। आखिर एकाएक राजनीतिको सेयर बजारमा कसरी धेरै माथि चढ्यो उनको ग्राफ ? हरेकको मुखमा कसरी झुन्डिए उनी ? महानगरका मतदाताको रोजाइमा कसरी प्रकट भए, अनि ? एक जना साथीले सुनाए, ‘मेरी वृद्धा आमाले जीवनभर निश्चित दललाई भोट हाल्नुभयो। यसपालि एउटा त बालेनलाई दिएँ भन्दै आउनुभयो।’ अर्का साथी पनि कुनै राजनीतिक दलका कट्टर समर्थक हुन्। उनलाई विदेशमा रहेका छोराले यति ढिपी गरेछन् कि, भोट हालेर भन्दै आए, ‘एउटा बालेनलाई नै दिएँ।’
अहिलेसम्म गनिएको संख्या अति सानो अंश हो। यसैका भरमा कसैले हार्छ वा जित्छ भनिहाल्नु न्यायोचित हुन्न। तर, यति भन्नु चाहिँ यथोचित हुन्छ– बालेनले सारा नेपालीको मन जितिसके।
स्वदेशमा। विदेशमा। युवामाझ। अधवैंशेमाझ। ज्येष्ठ नागरिकमाझ। महिलामाझ। पुरुषमाझ। सर्वत्र, सबै कसरी मोहित भए बालेनसँग ? हुँदा–हुँदा अन्य स्थानीय तहका मतदातासमेत भन्न थालेका थिए– ‘भोट त बालेनलाई दिने।’ राजधानीमै भेटिने तर अन्यत्रका मतदाता वा सूचीमा नामै नभएका व्यक्तिसमेत छाती फुकाएर भन्थे, ‘भोट केमा ? लौरोमा।’ राजनीतिको ‘र’ नजानेका बालबालिका बालेन र उनको लौरोको
बखान गर्दै हिँड्थे।
बालेनको त्यही लौरो ठूला दलका टाउकामा बज्रिएको छ। राजनीतिको गलत प्रवृत्तिमाथि प्रहार भएको छ। जनताको करमा मोजमस्ती गरेर चुनावका बेला देखापर्ने नेताका मर्ममा त्यसैले घोचेको छ। त्यही भएर त देशका बुद्धिजीवीसमेत दलहरूतिर धारेहात पारेर भन्न थालेका छन्, ‘खुच्चिङ।’
हिजो यो आलेख लेखुन्जेल (राति ९ बजेसम्म) बालेनले १२ हजार ८ सय ७७ मत ल्याएका छन्। उनीपछि एमालेका केशव स्थापितले ६ हजार ८ सय ७८ र कांग्रेसकी सिर्जना सिंहले ६ हजार १ सय १ मत पाएका छन्। सुरुदेखि नै उनी दोस्रोको दोब्बर हुँदै उकालो चढिरहेका छन्। ‘भित्री काठमाडौंमा छिरेपछि हामी अघि लाग्छौं’ भन्ने स्थापितको अभिव्यक्ति सत्य नै सावित भए पनि बालेनले नेपाली राजनीतिलाई बालिसकेका छन्। त्यसको ज्वालाले ठूला दललाई पोल्दै लगिरहेको छ। गाल्दै लगेको छ। ढाल्दै गएको छ।
बालेनले जितुन् वा हारुन्। तर, उनले जितिसके। देशैभरि, अझ संसारकै नेपालीबीच चर्चा छ त, बालेनकै छ। र, धेरैको मुखबाट निस्किएको सुनिन्छ, ‘धेरैजना हेरियो, काठमाडौंमा एक पटकलाई बालेनको बुद्धि हेर्न मन छ।’
काठमाडौंमा ३ लाख २ सय ४२ मतदाता छन्। निर्वाचन आयोगका अनुसार यहाँ ६३.४९ प्रतिशत मत खसेको छ। यसको अर्थ १ लाख ९० हजार ६ सयभन्दा बढीले नेतृत्व छान्न मताधिकार प्रयोग गरेका छन्। अहिलेसम्म गनिएको संख्या अति सानो अंश हो। यसैका भरमा कसैले हार्छ वा जित्छ भनिहाल्नु न्यायोचित हुन्न। तर, यति भन्नु चाहिँ यथोचित हुन्छ– बालेनले सारा नेपालीको मन जितिसके। अब परिणामको खास अर्थ छैन। आखिर बालेनको जबर्जस्त उदय किन भयो ? कहाँ थिए बालेन ?
के राजनीतिमा खारिन वर्षौं झोला बोकेर भुक्के चप्पल पड्काउँदै हिँडेका हुन् उनी। यति वर्ष जेल बसें भनेर फेहरिस्तका ठेली लेखेका छन् उनले ? ती कथा भट्याउँदै दैला–दैलामा पुगेका छन् उनी ? वा, राजनीतिक भद्दा शब्दावलीका लामा–लामा भाषण सुनाउँदै, ताली खाँदै भर्याङ चढेका हुन् ?
राजनीति गर्नेहरूले यिनै विशेषताले अब्बल गुण मान्छन् आफ्ना। तर, त्यसरी टुसाएका राजनीतिकर्मीहरू डन, गुन्डा र लुटेरा बनिरहेका छन्। हेर्दाहेर्दै राजनीति ठेक्का–पट्टाको व्यवसाय बन्यो। नेताहरू कुण्ठाको व्यापारमा अल्झिए। जनताका सामु उभिनुपर्ने पदहरू नेतैपिच्छे भागबन्डा हुन थाले। जनतामा भिजेका व्यक्ति पार्टीका पहुँचमा हुन्नन्। पार्टी पहुँचमा भएका व्यक्तिको जनमत हुन्न। टिकट पाउँछन् कि आफन्तले, कि पहुँचवालाले। अनि, बालेनहरू नजन्मिएर हुन्छ त ?
लोकतन्त्र जनताले लडेर ल्याएका हुन्। त्यसैले नेताको विरोध गर्दा निर्दलीयतालाई मलजल पुग्छ भन्दै जनता अहिलेसम्म औंला उठाउन डराए। व्यवस्था जाला कि भन्ने चिन्ताले बहुदलीय नेताका कुकृत्यका मौन दर्शक बने। तर, बलिदानीपूर्ण संघर्ष गरेर ल्याएको लोकतन्त्रमा बोल्न पाइन्छ। नेताको आलोचना गर्न पाइन्छ। बाटो बिराए सही ठाउँमा ल्याउन मिल्छ। र, मुख्य कुरा चुनावका क्षण हविगत देखाइदिन पाइन्छ। बालेनको लोकप्रियताको भाव त्यही हो।
बरु कांग्रेस–एमाले–माओवादीभित्र किन जन्मिएनन् बालेनहरू ? जन्मिएका बालेनहरू कसरी पाखा लगाइए ? कसरी पार्टी खोक्रा भए र बालेनहरू बाहिर रहे ? के नेतृत्वसामु धनुष्टंकार हुने आज्ञापालकहरूका झुन्ड मात्र हुन् दलहरू ? कि, अवसर पाएपछि ब्रह्मलुट गर्ने खञ्चुवाका पाटी–पौवा हुन् ती ? नत्र देशमा किन सुशासन आएन ? गरिबले दुई छाक खान पाउने दिन किन आएन ? शिक्षा र स्वास्थ्य किन पहुँचवालाको कब्जामा पुगे ? विकास–निर्माण किन असरल्ल भयो ?
काठमाडौं राजधानीको महानगर हो। भोक, शोकभन्दा यहाँका बासिन्दालाई समृद्धिको सम्बोधन बढी खाँचो छ। कुनै माइकालालले केही नगरून्, कम्तीमा सहर सफा र हराभरा बनाइदिऊन्, काठमाडौंवासीले सधैं मत दिनेछन्। देशको राजधानीमा दङदङती धुलो उड्नु हुँदैन। सडक पेटीमा फोहोरको चाङ लाग्नु हुँदैन। चाहे बालेन वा जो सुकैले जितून्, यी कुरामा हेक्का राख्न सकून्। दलका जनप्रतिनिधिले यसअघि त्यति गर्न नसकेकैले बालेन देखा परेका हुन्।
सुनिता डंगोल अर्को पात्र हुन्, जसले स्वतन्त्र भई मेयर लड्ने घोषणा गरेकी थिइन्। पछि एमालेमा छिरिन् र उपमेयरको प्रतिस्पर्धामा होमिइन्। आशालाग्दो व्यक्तित्व उनले गतिलै अग्रता लिइरहेकी छन्। यसले के देखाउँछ भने, दलबाट होऊन् वा स्वतन्त्र– व्यक्तिको अर्थ छ।
लोकतन्त्रमा स्वतन्त्र उम्मेदवारको पनि अस्तित्व हुन्छ। स्वतन्त्र हुनुको अर्थ निर्दलीयतालाई प्रश्रय दिनु होइन। राम्रा मान्छेले दलमा ठाउँ नपाउनु हो बरु। वा, सुहाउँदो दल नहुनु हो। अघिल्लो पालि रञ्जु दर्शना गर्जिएर आइन्। तर, विवेकशील साझाको छाता ओढेर। जुन दलको भावी खाका पत्यारिलो थिएन। र, जित्न सकिनन्। फलतः उनी राजनीतिबाट किनारै लागिन्। उनकै दलको हालतबाट विरक्तिएर।
सुनिता डंगोल अर्को पात्र हुन्, जसले स्वतन्त्र भई मेयर लड्ने घोषणा गरेकी थिइन्। पछि एमालेमा छिरिन् र उपमेयरको प्रतिस्पर्धामा होमिइन्। आशालाग्दो व्यक्तित्व उनले गतिलै अग्रता लिइरहेकी छन्। यसले के देखाउँछ भने, दलबाट होऊन् वा स्वतन्त्र– व्यक्तिको अर्थ छ। राजनीतिक दलहरू यसको आकलन गर्न कसरी चुके ? के कुनै बालेन शक्तिशाली बनेर यसरी उदाउनेछ भन्ने कहिल्यै कल्पना गरेका थिए तिनले ?
जनप्रतिनिधिका लागि मतदाताको आफ्नै मेनु हुन्छ। नेताहरूले भन्ने गर्थे, ‘मेनु त हेर्छन्, अन्त्यमा खाने उही ममः, चाउमिन नै हो।’ बालेन फरक स्वादको परिकार बनेर झुल्किए। काठमाडौंका मतदाता ममः, चाउमिनले वाक्क भएका थिए। अर्कै स्वाद ‘अर्डर’ गरे। बालेनको अहिलेसम्मको अग्रता नै त्यसको प्रमाण हो। फेरि पनि भन्छु– जिते पनि, हारे पनि, बालेनले जितिसके।
बालेनको आगमनले अर्को सन्देश पनि दिएको छ– राजनीतिमा प्रदूषण अचाक्ली भइसक्यो। कुन दलले कहाँ कति जितें भनेर नाक नघोक्र्याए हुन्छ। किनकि, बालेनले बालेको राजनीतिक आगोले भनिसकेको छ– दलहरू जनताको इजलासका अभियुक्त हुन्। अहिले सुनुवाइ चलिरहेको छ। बयान जारी छ। परमादेश आउन त बाँकी नै छ। पारा यही रहे, अर्को चुनावमा ७ सय ५३ स्थानीय तह मात्र होइन, सबै संघीय र प्रदेशका जनप्रतिनिधि बालेनीकरण हुनेछन्। राजनीतिक दलहरू गुन्टा बोकेर कुलेलम ठोक्नुपर्ने दिन आउन सक्छ।
काठमाडौंको मतदाताको रुचि बरु दल–सल त्यस्तै उस्तै, विकास र सुशासन चाहियो भन्ने देखियो। धेरैतिर स्वतन्त्र उम्मेदवारले अग्रता लिनु/जित्नुको कारण पनि यही हो। बालेनजस्तै व्यक्तिले हिम्मतपूर्वक सबै स्थानीय तहमा उम्मेदवारी दिएका थिए भने दलीय साख कहाँ पुग्थ्यो ? खासमा मतदाताले खोज्ने गतिला व्यक्ति नै हो।र, राजनीतिक दलहरूले राम्राभन्दा हाम्रालाई उम्मेदवार बनाएको खबरदारीसमेत हुन् बालेन।