अनौठो समय

समयले मानिसका सोच र परिवेशसँगै परिस्थिति बदल्दै जान्छ। मानिसलाई कमजोर र शक्तिवान् पनि समयले नै निर्धारण गर्छ। जीवनमा आइपरेका मायाका खोट हुन् या घृणाका चोटहरू सबै नियतिसँगै बग्दै जान्छन्। वास्तवमा यो समय नै अनौठो छ। यसले जीवनलाई मिलनमा होस् या वियोगमा घडीको सुईंसँगै बगाउँदै लान्छ। कोही आँसुभित्र मुस्कान खोजिरहेका हुन्छन्। कोही मुस्कानमा आँसु रोजिरहेका हुन्छन्। यी मानिसका चाहना र खोजाइ फरकफरक छन्। समय भने आफ्नै गतिमा चलिरहन्छ। जसले जसरी उपभोग गर्छ, उपभोक्तामा कर्म छोडिदिन्छ।
मानिस स्वभावैले अलि स्वार्थी हुन्छ। ऊ खुसी चाहन्छ। खुसीका विधाहरू फरक हुन सक्छन् तर समय फरक हुन सक्दैन। समय अटल छ। जसरी सूर्य अटल छ। पृथ्वीको घुमाइमा सूर्यको प्रकाश कतै अँध्यारो कतै उज्यालो। रातपछि दिन अनि दिनपछि फेरि रात। सधैं सूर्यको उज्यालो रहँदैन चन्द्रमाको जुनेली रात र औंसीको निष्पट अँधेरो पनि आउँछ। निष्पट अँधेरोमा पनि उज्यालोमा रमाउन चाहनेहरू दियो बालेर उज्यालो छर्छन् र अँध्यारोलाई चिर्दै उज्यालोमा रमाउँछन्। खुसी मानिसको आफ्नो रोजाइ र चाहनामा भर पर्ने नितान्त व्यक्तिगत स्वभावसँग जोडिएको हुन्छ। कोही मायामा खुसी हुन्छन् त कोही घृणा र तिरस्कारमा खुसी हुन्छन्। ऊ आफूलाई बुझ्न सक्दैन र भौतारिन्छ जीवनमा। वास्तवमा खुसी के मा छ खै ! समय बुझेर बाँच्नुमा छ कि, बाँच्नलाई समय बुझ्नुमा छ ! घृणामा छ कि मायामा छ ! आखिरी कहाँ छ त खुसी ? नयनबाट वर्षेका वर्षासँगै आफूलाई बगाउँदै, अतीतलाई बिर्संदै नचाहँदा नचाहँदै पनि जीवनलाई घिसार्नु पर्छ। चाहनाहरू सपना हुन्। कोही पूरा हुन्छन् त कति अधुरा रहन्छन्। सपनामा होइन मानिस विपनासँग रमाउन सक्नु पर्छ। समय विपना हो।
जीवनको भोगाइ र अनुभूतिको भेलमा मानिसका सपना र आकांक्षा डुबुल्की मारिरहेका हुन्छन्। सबै पीडाहरू मानिसमा एकै किसिमका हुँदैनन् र सहजै सहन गर्न पनि सक्दैनन्। विश्वास र भरोसाको डोरीमा जीवन अल्झिएको हुन्छ। त्यो डोरी बलियोमा अति बलियो र कमजोरमा अति कमजोर हुन्छ। हरेक मानिसको जीवन उसको मानसम्मान र प्रतिष्ठासँग गाँसिएको हुन्छ। चाहनासँग जोडिएको हुन्छ। सपना र रहरहरूले जीवनका प्रत्येक पल जोडिएको हुन्छ। कहिले क्रोध अँगाल्छ त कहिले भावुक बनिदिन्छ। यही क्रोध र भावुकतासँग पौंठाजोरी खेल्दै जीवनले एउटा रेखा पार गर्छ। थाहा हुँदैन त्यो रेखाले जीवनमा कस्तो आकृति बनाउँछ। त्यही आकृतिले सोच निर्माण गर्छ र मानिसले जीवन र मृत्युको रोजाइमा आफ्नो निर्णय गर्छ। भावनामा बगेका निर्णयहरूले दोहोरो पाटोको अध्ययन गर्दैन। ठीक बेठीक, सही गलत बीचको दूरी मापन गर्दैन। आफू र आफ्नोभन्दा अरू केही देख्दैन। नतिजा जे पनि आउन सक्छ। त्यसैले अति संवेदनशील हुन्छन्। के जीवनदेखि हार खानेहरूले मृत्युलाई रोज्नु ठीक हो ? कदापी होइन। मरेर स्वर्गको बयान लेखिँदैन। कल्पनाको सिसमहलले समयलाई छेकिँदैन। रात पछि दिन आउँछ।
कुनै पनि मानिसले जीवनमा देखेका सबै सपना र चाहना पूरा गर्न सक्दैनन् र पूरा पनि हुँदैनन्। सुख–दुःख, आँसु–हाँसो, पिर–चिन्ता, लोभ–मोह, आरोह–अवरोह यी सबै जीवनका हाँगा, पात र जराहरू हुन्। यी सबै छन् र त जीवन छ। त्यसैले मानिसले आफ्ना कथाहरू हुन् या जीवनका व्यथाहरू समयको यही अदृश्य शक्तिको आडमा डोहोर्याउँदै अगाडि बढ्नुको विकल्प छैन। मिलनमय विलासितामा होस् या वियोगमय पल समयलाई सोचसँगै परिस्कृत गर्दै अगाडि बढ्नु नै जीवन हो। दुःखको निदान मृत्यु होइन। सुख होस् या दुःख समयको अगाडि झुक्नै पर्छ। संघर्षले समयलाई झुकाउँछ।
दुःख र पीडा भनेका मानिसका छायाँ हुन्। सधैं एकै ठाउँमा र एउटै आकारमा रहन सक्दैन। समयसँगसँगै यसले दिशा र आकार परिवर्तन गरिरहन्छ। कहिले आफ्नो उचाइभन्दा अग्लो रूपमा देखिन्छ। कहिले आफ्नो रूपभन्दा निकै सानो कतै हराए जस्तो आकारमा देखिन्छ। अनि कतै आफ्नै पैतालामुनि थिचिएर पाइला चलिरहेका पनि हुन्छन्। जीवन छुट्टै संसार हो। कतिबेला कहाँबाट आँधी आउँछ र भुँमरी ल्याउँछ भन्न सकिँदैन। समयसँगै बहने सोचले निर्धारण गरेका कदमहरूलाई नियन्त्रण गर्न सक्नु जीवनको चुनौती हो। कतिले हार स्विकार गर्छन् त कतिले जितमा खुसीयाली मनाउँछन्। समयले कहिले लतार्छ, कहिले पछार्छ। कहिले रुवाउँछ, कहिले हँसाउँछ। कहिले औंला समातेर डोहोर्याउँदै सुखका अनुभूति दिलाउँछ। समय एउटा सादा कागज पनि हो जहाँ भाग्यको मसी रहेको कर्मको कलमले आफ्नो जीवन लेखिन्छ। त्यसैले त समय अनौठो छ।
प्रतिक्रिया दिनुहोस !
