डोटीमा मतगणना सकियो : सात स्थानीय तहमा कांग्रेस पहिलो
डोटी : डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालीको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेसको बर्चस्व रहेको छ ।
जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले सात तहमा भारिमतले जित हात पारेको छ भने बाँकी दुई पालिकामा झिनो मतले पराजित भएको छ ।
पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा समेत नेपाली कांग्रेसले जितेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सिमित रहेको थियो । यसपालि पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दिपक बहादुर बिष्टले ३७ मतले मात्रै हार व्यहोरेका छन् भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पछि परेका हुन् ।
उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जित हात पार्दै गर्दा नेकपा एमाले १९ वडामा सिमित रहेको छ ।
नेकपा माओवादी केन्द्रले ४ वडामा जितेको छ भने सँगै मिलेर चुनाव लेडेको नेकपा एकीकृत समाजवादीले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ मा राप्रपाले जित हात पारेको हो ।
त्यसैगरी, दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्ष जितेका राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठेका हुन्।
नेपाली कांग्रेसले जितेका पालिका तथा प्रमुख/उपप्रमुख
१. दिपायल सिलगढी नगरपालिका– प्रमुख : बाजिसिं खड्का ‘बिजय’
उपप्रमुख : कल्पना साउद
२. शिखर नगरपालिका– प्रमुख : दीर्घबहादुर बलायर
उपप्रमुख : सुनिता रावल
३. पूर्बीचौकी गाउँपालिका– अध्यक्ष : रामप्रसाद उपाध्याय
उपाध्यक्ष : पशुपतिदेवी खड्का
४. बडीकेदार गाउँपालिका– अध्यक्ष : भैरबबहादुर साउद
उपाध्यक्ष : डम्मरी कुमारी बिष्ट
५. आदर्श गाउँपालिका– अध्यक्ष : गणेशबहादुर खड्का
उपाध्यक्ष : लक्ष्मी रोकाय
६. सायल गाउँपालिका– अध्यक्ष : धर्मराज जोशी
उपाध्यक्ष : निर्मला बोहरा ओली
७. केआईसिंह गाउँपालिका– अध्यक्ष : लोकेन्द्रबहादुर शाही
उपाध्यक्ष : मिनादेवी बिष्ट
नेकपा एमालेले जितेको पालिका तथा प्रमुख-उपप्रमुख
जोरायल गाउँपालिका– अध्यक्ष : दुर्गादत्त ओझा
उपाध्यक्ष : जमुना बोहरा
नेकपा माओवादी केन्द्रले जितेको पालिका तथा प्रमुख
बोगटान फुड्सिल गाउँपालिका– अध्यक्ष : कमल गड्सिला
उपाध्यक्ष : बिष्ना देउवा बम (नेपाली कांग्रेस)