सिन्धुलीको मरिण गाउँपालिका अध्यक्षमा माओवादीका मोक्तान विजयी
सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विमर्श मोक्तान(प्रख्यात) निर्वाचित भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी विमला माझी निर्वाचित भएकी छन्।
अध्यक्ष मोक्तानले ५ हजार १ सय ९४ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत दुर्गा बन्जाडेले बताइन्। मोक्तानका निकटतम प्रतिस्पर्धी एमालेका गोविन्दलाल माझीले ४ हजार ७ सय ६० मत पाएका छन्।
अध्यक्षमा निर्वाचित मोक्तान यसअघिका वडा नं ३ का वडाध्यक्ष हुन। उनी सत्तारुढ दलहरुबीच भएको गठबन्धनका साझा उम्मेदवार थिए। उनी पूर्व जनमुक्ती सेनासमेत हुन्।
यस्तै उपाध्यक्षमा विजयी माझीले ५ हजार २ सय ८१ मत प्राप्त गरेकी छिन्। उनको निकटतम प्रतिस्पर्धी स्वतन्त्रबाट मञ्जु माझीले ५ सय ८ मत प्राप्त गरिन। ७ वटा वडा रहेको मरिणमा नेकपा माओवादी केन्द्रले ६ वटा वडाध्यक्षसहित प्यानलनै जितेको छ। वडा नं ४ मा भने एमालेले जित हासिल गरेको छ।
प्राप्त जानकारी अनुसार मरिण गाउँपालिका-१ वडाध्यक्षमा माओवादीका हिरबहादुर गुर्मछान, २ नम्बरमा कमल बहादुर आले, ३ नम्बर वडामा जित बहादुर श्रेष्ठ विजयी भएका छन्। वडा नम्बर ४मा भने नेकपा एमालेका जित बहादुर काल्तान विजयी भएका छन्। वडा नम्बर ५ मा माओवादी केन्द्रकै दिपक माझी, वडा नम्बर ६ मा माओवादी केन्द्रका हर्कविर माझी र वडा नम्बर ७ को अध्यक्षमा माओवादी केन्द्रकै चन्द्र बहादुर थिङ (फौद) विजयी भएका छन्।
२०७४ को स्थानीय निर्वाचनमा मरिण गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सबै वडामा माओवादी केन्द्रले जितेको थियो।
यस पटक भने सत्तारुढ दलहरुबीच चुनावी तालमेल भएपनि नेकपा एमाले भने एक्लै चुनावमा उठेको थियो। मरिण गाउँपालिकालाई नेकपा माओवादी केन्द्रको आधार क्षेत्रका रुपमा लिइने गरिन्छ।