जाजरकोटको बारेकोटमा निवर्तमान अध्यक्षलाई पराजित गर्दै एमालेका गिरी विजयी
जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिकामा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका वीरबहादुर गिरी अध्यक्षमा निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका निवर्तमान गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई १०९ मतले पराजित गर्दै गिरी अध्यक्षमा विजयी भएका हुन्।
अध्यक्षमा निर्वाचित गिरीले तीन हजार नौ सय ५४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका महेन्द्रबहादुर शाहले ती हजार आठ सय ४५ मत प्राप्त गरेका छन्। यस्तै उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नरबहादुर गिरी निर्वाचित भएका छन्।
उपाध्यक्षमा निर्वाचित गिरीले तीन हजार छ सय ६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी गिता सिंहले तीन हजार चार सय एक मत प्राप्त गरेकी छन्।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट महेन्द्रबहादुर शाह निर्वाचित भएका थिए। तर यस पटक सत्ता गठबन्धनबाटै धोका पाएपछि उनी पराजित भएका हुन्।
बारेकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसवीच चुनावी गठबन्धन भएको थियो तर एमालेले एक्लै निर्वाचनमा होमिएको थियो। अध्यक्षमा निर्वाचित गिरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन्।